काठमाडौं । चीनको अटो पार्ट्स उत्पादक साङ्घाई लन्चको सहायक कम्पनी एलएस अटोले नेपाली बजारमा विद्युतीय गाडी ‘एलएस एलईभी ०१’ (LEV 01) सार्वजनिक गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै नेपालको लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले यो गाडी सार्वजनिक गरेको हो ।
स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा उपलब्ध ‘एलईभी ०१’ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर रहेको छ । जसले ३०० न्युटन मिटरको टर्क उत्पन्न गर्ने कम्पनीको दाबी छ ।
‘एलईभी ०१’ मा २१० एमएमको ग्राउण्ड क्लियरेन्स दिइएको छ । प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यस ईभीमा ब्याट्री प्याक पोजिसन साइड बडीभन्दा अझै माथि रहेको छ । यसको ब्याट्री प्याक र ग्राउन्डबीचको दुरी २२१ एमएम रहेको बताइएको छ । एलएस अटो ‘एलईभी ०१’ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ ।
चीनको प्रमुख डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी एरोडाइनामिक डिजाइनमा रहेको छ । यसको ड्रयाग कोएफिसियेन्ट इलेक्ट्रिक एसयूभीहरूमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ । यो ईभीले एक पटकको फुल चार्जमा ५०० किमिसम्मको रेन्ज दिने बताइएको छ ।
प्रिमियम डिजाइन रहेको ‘एलईभी ०१’ मा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ ।
गाडीमा लेदरेट स्टेरिङ ह्विल तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टी-कलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रमेन्टल क्लस्टर, प्यानोरामिक सनरुफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधा छन् ।
सुरक्षाका लागि यस कारमा १० ओटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रुज कन्ट्रोल, अटो होल्ड र हिल असिस्ट कन्ट्रोल फिचर छन् ।
युरो एनक्यापबाट क्र्यास टेस्टमा फाइभ-स्टार सेक्युरिटी रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा ८ वर्ष वा एक लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी पाइन्छ ।
नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसन (एसई)को मूल्य ६१ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट एडिसन (सीई)को मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।
आफैं डिजाइन हाउस समेत भएकाले यो कम्पनीले बनाएका गाडीहरू राइट ह्यान्ड ड्राइभ (आरएचडी) र लेफ्ट ह्यान्ड ड्राइभ (एलएचडी) दुवै अप्सनमा एकैसाथ उत्पादन गर्छ ।
देशव्यापी रूपमा चार्जिङ स्टेसन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौं बालुवाटारस्थित चिनियाँ दूतावास नजिकै शोरुम खोलेको छ । आउने साताभित्र ललितपुरको बालकुमारीबाट पनि शोरुम सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।