काठमाडौं । नेपाल आउने विदेशी पर्यटकले अब फोनपेको स्क्यान टु पे सुविधा मार्फत भिसा कार्डबाट भुक्तानी गर्न सक्ने भएका छन् । यसका लागि भिसाले फोनपेसँग रणनीतिक सहकार्य गरेको छ ।
भिसा कार्ड प्रयोगकर्तालाई क्रस बोर्डर पेमेन्टमा सहज बनाउने उद्देश्यले यस्तो योजना ल्याइएको हो । दुई कम्पनीको यस सहकार्यले नेपालभरका १५ लाखभन्दा बढी व्यापारिक स्थलहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने छ ।
अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेर फोनपे स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यसले नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई ठूलो राहत दिने भिसा र फोनपेले विश्वास राखेका छन् ।
भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “नेपालका उपभोक्ताहरू र पर्यटकहरूलाई डिजिटल भुक्तानीको नयाँ अवसर दिने यो साझेदारी महत्त्वपूर्ण छ । हामी यस साझेदारीमार्फत नेपालमा भुक्तानी र भुक्तानी पाउने तरिकामा नयाँ र सुरक्षित विकल्पहरू ल्याउन उत्साहित छौं ।”
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अनुभवलाई अझ सहज र सुरक्षित बनाउने छ। भिसाको विश्वव्यापी नेटवर्क र फोनपेको बलियो पूर्वाधारले नेपालमा सीमापार भुक्तानीलाई नयाँ आयाम दिन्छ । यसले साना र ठुला व्यवसायीहरूलाई फाइदा पुर्याउनेछ ।”