काठमाडौं । अर्को वर्षको भदौमा हुने ‘नाडा अटो शो २०२५’ को लागि स्टल बुकिङ खुलेको छ । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले आयोजना गर्ने यस प्रदर्शनीको नयाँ संस्करण लागि आजदेखि स्टल दर्ता सुरु भएको हो ।
इच्छुक कम्पनीले ४ चैतसम्म बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
१७औं संस्करणको नाडा अटो शो आगामी २०८१ भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुनेछ ।
प्रदर्शनीमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स्, ग्यारेज उपकरण, वित्तीय संस्था र इन्स्योरेन्स समूह छुट्याएर सोही अनुरूप दर्ता गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
नाडा अटो शो २०२५ का सहसंयोजक अनुपकुमार बरालले यस संस्करणको प्रदर्शनीमा पनि विद्युतीय सवारी मुख्य आकर्षण हुनेछ । गत भदौमा भएको नाडा अटो शोमा दर्जन बढी ब्राण्डका बिजुली गाडी प्रदर्शनीमा राखिएको थियो । ईभीको डिजाइन, नवीनतम प्रविधि र वातावरणमैत्री विशेषताहरूले दर्शकलाई लोभ्याउने आयोजकको विश्वास छ ।