काठमाडौं । नयाँ-नयाँ प्रविधिको प्रयोगले विद्युतीय सवारी सहजसँगै थप सुरक्षित बन्दै गइरहेका छन् । तीमध्ये एयरब्याग प्रणाली आधुनिक सवारी साधनको महत्त्वपूर्ण सुरक्षा विशेषता बनेको छ । दुर्घटनाको समयमा यात्रुहरूको सुरक्षा गर्न एयरब्यागले मुख्य भूमिका रहन्छ ।
तर, एयरब्याग वास्तवमा कसरी काम गर्छ । कसरी र कहिले खुल्छ ? विद्युतीय कारहरूमा यसको कार्यप्रणाली कति सुरक्षित छ ? यस विषयमा धेरैको जिज्ञासा रहने गर्छ ।
यसैबीच विद्युतीय सवारी निर्माता ग्वाङ्झाउ अटोमोबाइल ग्रुप अर्थात् ‘जीएसी’ ले एयरब्याग सुरक्षा प्रविधिका विभिन्न पक्षबारे जानकारी दिएको छ । विश्वकै तेस्रो ठूलो विद्युतीय कार निर्माता समेत रहेको जीएससीले आफ्ना उत्पादनमा उन्नत स्तरका एयरब्यागहरू राख्ने गरेको दाबी गरेको छ ।
चिनियाँ बजारमा टोयोटा र होन्डाका सम्पूर्ण गाडी जीएसीले नै उत्पादन गर्छ । हालै, टोयोटाले ल्याएको विद्युतीय गाडी ‘bZ3X SUV’ पनि पूर्ण रूपमा जीएसीले विकास र निर्माण गरेको हो ।
कम्पनीका अनुसार विद्युतीय कारमा परम्परागत इन्धनयुक्त कारभन्दा उन्नत एयरब्याग प्रणाली प्रयोग गरिन्छ । विद्युतीय कारहरूमा हुने जडानयुक्त सेन्सरहरू र सफ्टवेयरहरूले दुर्घटनाको आँकलन गर्न अझ प्रभावकारी रूपमा काम गर्छन् । साथै, पछिल्ला कारका एयरब्याग प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग पनि गरिएको छ, जसले यात्रुको स्थितिअनुसार एयरब्यागको प्रभाव घटाउने वा बढाउने काम गर्छ ।
जीएससीका अनुसार कार दुर्घटना हुँदा मान्छेलाई बचाउन एयरब्याग आफैं खुल्छ । “यो खुल्ने कुरा गाडीको गति, ठोक्किने तरिका र कत्तिको ठूलो दुर्घटना भयो भन्ने कुरामा भर पर्छ । खासगरी ठुलो दुर्घटना हुँदा मात्र यो खुल्छ, ताकि गाडीभित्रका मान्छेहरु सुरक्षित रहून्,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केही विशेष अवस्थाहरूमा जस्तै; संकुचित वस्तुहरू (जस्तै पोल वा रूख) सँग ठक्कर, पछाडिबाट ठक्कर, गाडी पल्टिने घटनाहरू वा सानो स्तरका ठक्करहरूमा सवारीसाधनका सेन्सरहरूले एयरब्यागको सक्रियता आवश्यक नरहेको ठान्न सक्छन् । यसले अनावश्यक रूपमा एयरब्यागहरू नखुल्ने सुनिश्चित गर्दछ, जसले यात्रुहरूलाई अनावश्यक जोखिमबाट जोगाउँछ ।
कारमा जडान गरिएका एक्सेलेरोमिटर (गतिको तीव्रता नाप्ने टुल) तथा अन्य सेन्सरहरूले गाडीको गति अचानक घटेको वा ठोक्किएको पत्ता लगाउँछन् । सेन्सरहरूले दुर्घटना गम्भीर भएको संकेत गरेपछि एयरब्याग कन्ट्रोल युनिट (एसीयू)ले विद्युत संकेत पठाउँछ, जसले एयरब्यागभित्र रहेको रासायनिक पदार्थलाई सक्रिय गराउँछ । सक्रिय भएको रासायनिक प्रतिक्रिया पछि नाइट्रोजन ग्यास उत्पन्न हुन्छ, जसले एयरब्यागलाई २०–३० मिलिसेकेन्ड भित्र फुलाउँछ ।
एयरब्याग फुलेपछि चालक र यात्रुहरूको टाउको तथा छातीलाई नरम सतह प्रदान गरेर गम्भीर चोटपटक लाग्नबाट जोगाउँछ । एयरब्यागले आफ्नो काम गरिसकेपछि यसमा रहेको प्वालबाट ग्यास बाहिर निस्कन्छ, जसले यात्रुलाई सहज रूपमा निस्कन मद्दत गर्छ ।
इन्टेलिजेन्स सुरक्षा प्रणालीहरू प्रयोग गरेर आफूले विश्वव्यापी सुरक्षा मापदण्ड र प्रमाणपत्रहरू प्राप्त गरेको जीएसी ग्रुपले उल्लेख गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई गाडीको म्यानुअलहरू हेर्न र एयरब्याग कार्यक्षमता र समग्र सुरक्षा सुविधाहरूमा थप विवरणहरूको लागि आधिकारिक सर्भिस सेन्टरहरूमा परामर्श लिन अनुरोध गरेको छ ।