close

हरित ऊर्जाको प्रवर्द्धनः ह्वावे डिजिटल पावर र सिएनआईबीच सौर्य ऊर्जा संवाद

टेकपाना टेकपाना

फागुन २७, २०८१ २२:४९

हरित ऊर्जाको प्रवर्द्धनः ह्वावे डिजिटल पावर र सिएनआईबीच सौर्य ऊर्जा संवाद

काठमाडौं । ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम 'सौर्य पीभी र ऊर्जा भण्डारण संवाद' आयोजना गरेको छ । काठमाडौंको हात्तीसारस्थित ह्वावे प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रभावशाली सरोकारवाला सहभागी भएका थिए ।

नेपाल उद्योग परिसंघ (सिएनआई) सँगको सहकार्यमा भएको यस संवादले नेपालको ऊर्जा परिदृश्यलाई रूपान्तरण गर्दै देशलाई हरित र दिगो भविष्यतर्फ उन्मुख गराउने उद्देश्य राखेको छ । यस अवसरमा सौर्य फोटोभोल्टिक प्रणाली तथा ऊर्जा भण्डारण समाधानहरूको सम्भावना अन्वेषण गर्दै दिगोपन प्रवर्द्धनमा केन्द्रित बहस गरिएको थियो ।

कार्यक्रमको आयोजनाका लागि नेपाल उद्योग परिसंघ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र ऊर्जा नियामक आयोगले सहकार्य गरेका थिए । यस प्रकारको पहल नेपालको औद्योगिक ऊर्जा क्षेत्रमा नवीनतम प्रविधि अपनाउँदै दिगो भविष्यतर्फको यात्रालाई तीव्र बनाउन महत्त्वपूर्ण मानिएको छ ।

कार्यक्रममा प्रमुख वक्ताहरूमा ह्वावे नेपालका सीईओ जिम हुआङ, ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्ग, ह्वावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, एनएमबी बैंकका दिगो ऊर्जा बैंकिङ प्रमुख दिनेश दुलाल, विद्युत नियमन आयोगका सदस्य डा. मधुसूदन अधिकारी, टोङवेईका प्राविधिक विज्ञ ग्यारी रहेका थिए भने शिव शक्ति समूह, डिजेपीएल समूह र चौधरी समूहका प्रमुख उद्योगीहरू उपस्थित थिए ।

कार्यक्रममा वक्ताहरूले सौर्य पीभी र ऊर्जा भण्डारणको नवीनतम प्रवृत्ति, नेपालमा यसको व्यावहारिक प्रयोग, ऊर्जा लागत न्यूनीकरण, तथा हरित प्रविधिको भविष्य सम्बन्धी छलफल गरेका थिए । उनीहरूले उद्योगहरूलाई डिकार्बोनाइजेसन, ऊर्जा लागत कटौती र दिगो अभ्यासलाई प्रवर्द्धन गर्न सौर्य ऊर्जा र भण्डारण प्रविधिहरूको महत्त्वबारे विस्तृत दृष्टिकोण प्रस्तुत गरे ।

कार्यक्रममा ह्वावे फ्युजनसोलार सी एन्ड आई ओएसिस सोलुसन को आधिकारिक अनावरण गरिएको थियो, जसमा १ सी/१५० के र २१५/१०८ केडब्लुएच सी एन्ड आई ब्याट्री इनर्जी स्टोरेज सिस्टम (BESS) समावेश छन् । यसको उद्घाटन ह्वावे नेपालका सीईओ जिम हुआङ, ह्वावे नेपालका प्रमुख प्राविधिक अधिकृत लिक्सियाओवेई र ह्वावे दक्षिण एसिया डिजिटल पावर बिजनेस डिपार्टमेन्टका प्रबन्ध निर्देशक निक्सियाओपेङ को नेतृत्वमा भएको थियो ।

यी उन्नत समाधानहरू नेपाली उद्योगहरूलाई ऊर्जा लागत घटाउन, बिजुली आपूर्तिको विश्वसनीयता सुधार गर्न र हरित ऊर्जा प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले डिजाइन गरिएको हो । साथै, फ्युजनसोलार सी एन्ड आई ओएसिस स्मार्ट पीभी र ईएसएस सोलुसन प्रस्तुत गरिएको थियो, जुन शपिङ मल, कारखाना र कार्यालय पार्क जस्ता व्यावसायिक तथा औद्योगिक क्षेत्रमा सौर्य ऊर्जा उपयोगलाई अझ सुरक्षित र प्रभावकारी बनाउनेछ ।

कार्यक्रमको स्वागत मन्तव्यमा ह्वावे नेपालका सीईओ जिम हुआङले भने, “नेपालमा हरित ऊर्जा प्रविधिको भविष्य उज्ज्वल छ । हामी सहकार्य र नवीनतामार्फत दिगो समाधानहरू प्रयोग गर्न, कार्बन फुटप्रिन्ट घटाउन र हरित डिजिटल ऊर्जा प्रणाली निर्माण गर्न प्रतिबद्ध छौं ।”

नेपाल उद्योग परिसंघका ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्गले नेपालका उद्योगहरूमा दिगो ऊर्जा प्रवर्द्धनको आवश्यकता औंल्याउँदै भने, “नेपालको औद्योगिक विकास सौर्य ऊर्जा तथा ऊर्जा भण्डारण प्रविधिहरूको प्रभावकारी उपयोगमा निर्भर रहनेछ । यसले हाम्रो स्वच्छ ऊर्जा लक्ष्यलाई साकार पार्नुका साथै औद्योगिक क्षेत्रको दिगो विकास सुनिश्चित गर्नेछ ।”

ह्वावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङले भने, “हामी नवीन डिजिटल ऊर्जा समाधानमार्फत नेपालभरका उद्योगहरूलाई ऊर्जा लक्ष्य हासिल गर्न मद्दत गर्न प्रतिबद्ध छौं । सौर्य ऊर्जा र ऊर्जा भण्डारण प्रविधिहरूले उद्योगहरूलाई दीर्घकालीन रूपमा लाभान्वित गर्नेछन् ।” 

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले समापन मन्तव्य दिँदै भने, “स्वच्छ, भरपर्दो ऊर्जाद्वारा सञ्चालित भविष्यतर्फ हामी अघि बढ्दैछौं । आज प्रस्तुत गरिएका समाधानहरूले परम्परागत ऊर्जा स्रोतमा हाम्रो निर्भरता कम गर्दै दिगो भविष्य निर्माण गर्ने विश्वास लिएका छौं ।”

पछिल्लो अध्यावधिक: फागुन २७, २०८१ २२:५४