close

गुगलको ‘फाइन्ड माई डिभाइस एप’ बाट अब साथीभाइको लोकेसन सजिलै फेला पार्न सकिने

टेकपाना टेकपाना

चैत २, २०८१ १३:१५

गुगलको ‘फाइन्ड माई डिभाइस एप’ बाट अब साथीभाइको लोकेसन सजिलै फेला पार्न सकिने

काठमाडौं ।  गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि ‘फाइन्ड माई डिभाइस’ (Find My Device) एपमा नयाँ फिचर थपेको छ । प्रयोगकर्तालाई आफ्ना साथीभाइ र परिवारका सदस्यले शेयर गरेको लोकेसन हेर्न मद्दत पुर्‍याउने उद्देश्यले कम्पनीले नयाँ अपडेट सार्वजनिक गरेको हो ।

यसअन्तर्गत गुगलको फाइन्ड माई एपको बटन बारमा ‘पिपुल’ (People) को अप्सन थपिएको देख्न सकिन्छ । यसलाई प्रयोग गरेर प्रयोगकर्ताले सजिलै आफ्ना आफन्त तथा साथीभाइको लोकेसन थाहा पाउन सक्छन् । तर, त्यसका लागि उनीहरूले आफ्नो लोकेसन शेयर गरेको हुनुपर्नेछ । 

यो नयाँ फिचर गत हप्ता एन्ड्रोइडको मार्च अपडेटमा घोषणा गरिएको थियो भने अहिले विश्वव्यापी रूपमा उपलब्ध भइसकेको छ । यसअघि नै गुगल म्याप्समा साथीभाइ र परिवारले एकअर्काको लोकेसन हेर्न सक्ने सुविधा थियो । अब एन्ड्रोइडको फाइन्ड माई डिभाइस एपले हराएको एन्ड्रोइड डिभाइससँगै व्यक्ति खोज्न मद्दत गर्नेछ । 

यो नयाँ फिचर प्रयोग गर्न सबैभन्दा पहिले तपाईंले प्ले स्टोरबाट ‘फाइन्ड माई डिभाइस’ एप इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसपछि तलपट्टि दायाँतिर रहेको ‘पिपुल’ (People) अप्सनमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि त्यहींबाट तपाईंका कन्ट्याक्ट देखिन्छ । आफूले लोकेसन पठाउन चाहेको अकाउन्ट छानेर तलपट्टि रहेको शेयर बटनमा ट्याप गर्न सक्नुहुन्छ । 

त्यस्तै लिङ्क कपी गरेर अन्य विभिन्न माध्यमबाट पनि पठाउन सकिन्छ । लोकेसन शेयर गर्नासाथ उक्त व्यक्तिको फोनमा नोटिफिकेसन देखिन्छ । र, त्यही नोटिफिकेसनमा ट्याप गरेपछि फाइन्ड माई डिभाइस एपमा उक्त व्यक्तिको लोकेसन देखिन्छ । गेट डाइरेक्सन भन्ने अप्सनमा ट्याप गरेपछि गुगल म्याप्समा उक्त व्यक्तिसम्म कसरी पुग्न सकिन्छ भन्ने जानकारी पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०८१ २३:१७