close

अब क्यालकुलेटर खोल्न पर्दैन, आईफोनको मेसेजिङ एपमै यसरी गर्नुहोस् हिसाबकिताब

टेकपाना टेकपाना

चैत ११, २०८१ १७:५३

अब क्यालकुलेटर खोल्न पर्दैन, आईफोनको मेसेजिङ एपमै यसरी गर्नुहोस् हिसाबकिताब

काठमाडौं । आधुनिक समयमा कुनै पनि गणितीय समस्या समाधान गर्न हामी प्रायः क्यालकुलेटरको सहारा लिन्छौं । सामान्य जोड घटाउदेखि लिएर जटिल गणना गर्नका लागि क्यालकुलेटर अनिवार्य हुन्छ । तर कहिलेकाहीँ मोबाइलमा क्यालकुलेटर खोज्न पनि समस्या बन्ने गरेको छ । अब यस समस्याबाट मुक्ति दिन आईफोनले नयाँ सुविधा ल्याएको छ ।

यदि तपाईँले आईफोनमा आईओएस १८ डाउनलोड गरिसक्नु भएको छ भने तपाईँले आफ्नो मेसेजिङ एपमै हिसाबकिताब गर्न सक्नुहुन्छ । उदाहरणका लागि साथीहरूसँग कतै घुम्न जानुभयो । घुम्न जाँदा, खाँदा वा गाडी भाडा शेयर गर्नु पर्‍यो भने तपाईँले सिधै आफ्नो मेसेजिङ एपमै हिसाब गरेर आएको परिणाम सोझै पठाउन सक्नुहुन्छ । मेसेजमा कुरा गर्दागर्दै हिसाब गर्न क्यालकुलेटर एप खोल्नुपर्ने बाध्यता अब हुँदैन । 

आईफोनको मेसेजिङ एपमा कसरी गर्ने हिसाब ?

- आफूले प्रयोग गर्ने कुनै पनि मेसेजिङ एप खोल्नुहोस् । 

- अब हिसाब गर्नुपर्ने अङ्क र जोड्ने, घटाउने वा गुणा के गर्ने, त्यसको सिम्बोल राख्नुहोस् (२+२)​

- त्यसपछि इक्वेल्स टु (=) टाइप गर्नुहोस् । इक्वेल्स टु टाइप गर्ने बित्तिकै तपाईँले आफ्नो जवाफ त्यहाँ देख्न सक्नुहुन्छ ।​ 


- यति गरिसकेपछि मेसेज पठाउनु होस् । अथवा आफ्नो परिणाम कतै कपि गर्न पनि सक्नु हुन्छ ।​

यो फिचर कुनै पनि मेसेजिङ एपमा, मेसेन्जर, ह्वाट्सएप, भाइबर लगायतमा प्रयोग गर्न सक्नुहुन्छ । सामान्य जोड घटाउसँगै तपाईँले मेसेजिङ एपमा नै जटिल हिसाबहरू पनि गर्न सक्नुहुन्छ । साथै मानकहरू परिणत गर्न पनि सक्नुहुन्छ ।

उदाहरणका लागि कुनै वस्तुको मानक पाउन्डमा छ । त्यसलाई किलोग्राममा परिणत गर्नुपर्‍यो । यसका लागि पनि हिसाब गरे जस्तै गरी मेसेजिङ एपमा पाउन्डमा रहेको अङ्क टाइप गर्नुहोस् र इक्वेल्स टु टाइप गर्नुहोस् । यसले तुरुन्त त्यो मानकलाई किलोग्राममा परिणत गरी दिन्छ । ​

पछिल्लो अध्यावधिक: चैत ११, २०८१ १८:१