काठमाडौं । व्यावसायिक भुक्तानी प्रणाली कर्पोरेट पेमा २० हजारभन्दा बढी संस्था आबद्ध भएका छन् । एक विज्ञप्ति जारी गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले यो आँकडा पूरा भएको जानकारी दिएको हो । एनसीएचएलका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै कर्पोरेट पेमार्फत ७१४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
साना तथा मझौला व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था, वित्तीय संस्था लगायत विभिन्न संस्थाले डिजिटल भुक्तानीका लागि कर्पोरेट पेको प्रयोग गरिरहेका छन् । कर्पोरेट पेको मल्टी बैंकिङ डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेसले प्रयोगकर्ताहरूलाई आकर्षित गरेको एनसीएचएलको भनाइ छ ।
कर्पोरेट पेमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क युटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू लिङ्क गरी भुक्तानीका लागि आवश्यक अपरेटिङ म्यान्डेटहरू सेट गरी फन्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिन्छ ।
कर्पोरेट पेमा रियल टाइममा प्रति कारोबार एक करोड रुपैयाँ (सोही बैंक वित्तीय संस्था) र २० लाख रुपैयाँ (अन्य बैंक वित्तीय संस्था) सम्म कारोबार गर्न सकिन्छ । नन-रियल टाइम कारोबारको हकमा २० करोड रुपैयाँसम्म कारोबार सीमा रहेको छ ।
व्यवसायीहरूले यो वेबसाइटबाट कम्पनीको विवरण दाखिला गरी प्रयोगकर्ताहरूको ‘hierarchical roles’ निर्धारण गरी बैंकको विवरण राखेर अनलाइन दर्ता प्रक्रिया सम्पन्न गर्न सक्नेछन् । त्यसपछि सम्बन्धित बैंकले दर्ता स्वीकृत गरेपछि एक्टिभेसन प्रक्रिया सम्पन्न हुन्छ । व्यवसायीहरूले बैंकमा सम्पर्क गरी म्यानुअल इनरोलमेन्ट पनि गर्न सक्ने एनसीएचएलले जनाएको छ ।