काठमाडौं । अमेरिकामा पहिलो पटक नेपालको सूचना प्रविधि र आईटी इनेबल सेवा उद्योगको अन्तर्राष्ट्रिय रोडशो आयोजना भएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले नेपालस्थित अमेरिकी चेम्बर अफ कमर्ससँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
'शेयर्ड सर्भिसेस एण्ड आउटसोर्सिङ विक कन्फ्रेन्स (एसएसओडब्लू) २०२५' मा आउटसोर्सिङ क्षेत्रका पेसाकर्मी सहितको नेपालको विशेषत प्याभिलियन राखिएको थियो । ‘टेक पीक नेपाल: ओर्लान्डो २०२५’ नाम दिइएको उक्त प्याभिलियनले नेपाललाई आईटी इनेबल सेवा र आउटसोर्सिङको लागि एक प्रमुख गन्तव्यको रूपमा प्रस्तुत गरेको थियो । जसले विश्वव्यापी प्रविधि क्षेत्रमा देशको बढ्दो सम्भावनालाई उजागर गरेको आयोजकले जनाएको छ ।
नेपाल प्याभिलियनले नेपालको प्राविधिक उद्योगलाई विश्वभरका सहभागी माझ सफलतापूर्वक परिचित गराएको थियो । जसले आउटसोर्सिङ र आईटी इनेबल सर्भिस क्षेत्रका प्रमुख सरोकारवाला, लगानीकर्ता र निर्णयकर्ताहरूको ध्यान खिचेको थियो ।
त्यस क्रममा सक्छ, इनोभेट टेक, एफवन सफ्ट, सिमजुङ, सिनिकल टेक्नोलोजी र मोनाल टेक जस्ता छ ओटा प्रमुख नेपाली प्राविधिक कम्पनीहरूले आफ्ना नवीनतम् सोलुसन, इनोभेसन तथा आउटसोर्सिङको क्षमतालाई प्रस्तुत गरेका थिए । उक्त प्रतिनिधिमण्डलको नेतृत्व सीएनआईको आईटी परिषद्का अध्यक्ष अजित शाहले गरेका थिए ।
सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले 'टेक पीक नेपाल: ओर्लान्डो २०२५' ले इतिहास रचेको बताए । "यो पहलले विश्वव्यापी आउटसोर्सिङ उद्योगमा नेपालको असीमित सम्भावनालाई सफलतापूर्वक प्रदर्शनी गरेको छ । यो केवल सुरुवात हो, र हामी नेपाललाई विश्वव्यापी मञ्चमा एक अग्रणी आई इनेबल सर्भिस हबको रूपमा स्थापित गर्ने प्रयास गरिरहने छौँ," उनले भने ।
१,००० भन्दा बढी उद्योग क्षेत्रका पेसाकर्मीहरूको सहभागिता रहेको कन्फ्रेन्सले नेपाली आईटी कम्पनीहरूलाई सम्भावित अन्तर्राष्ट्रिय ग्राहक, लगानीकर्ता र रणनीतिक साझेदारसँग काम गर्ने प्लेटफर्म प्रदान गरेको थियो ।