close

एसईईपछि फुर्सदमा हुनुहुन्छ ? यी सीप सिक्नुहोस्, भविष्यमा काम लाग्छ

टेकपाना टेकपाना

चैत १८, २०८१ १६:२९

एसईईपछि फुर्सदमा हुनुहुन्छ ? यी सीप सिक्नुहोस्, भविष्यमा काम लाग्छ

काठमाडौं । भर्खरै माध्यमिक शिक्षा परिक्षा (एसईई)को परीक्षा सकिएको छ । एसईईको तयारीका लागि लामो समय अध्ययनमै बिताएकाले धेरै विद्यार्थी अहिलेको समय रमाइलोसँग बिताउने तयारीमा हुन्छन् ।

यस्तै, कक्षा १० सम्म निश्चित पाठ्यक्रम पढेका विद्यार्थीहरूलाई अब भने आफ्नो रुचिअनुसारको विषय छनोट गर्नुपर्ने जिम्मेवारी पनि थपिएको छ । अब के गर्ने भनेर लिने निर्णयले भविष्यमा ‘के बन्ने ?’ भन्ने विषयलाई समेत निर्धारण गर्न सक्ने भएकाले त्यसको पूर्वतयारी समेत थाल्नुपर्ने समय आएको छ ।

त्यसैले यो बिदाको समयमा परिवार र साथीभाइसँग रमाइलो गर्नुका साथै विभिन्न कोर्स गर्न सकिन्छ, जसले विद्यार्थीको सीप बढाउनुका साथै आगामी दिनमा अध्ययनमा पनि सहयोग पुर्‍याउन सक्छ ।

आईटी क्षेत्रमा रुचि भएका वा खाली समयमा नयाँ कुरा सिक्न चाहनेहरूका लागि यो लेख उपयुक्त हुन सक्छ ।

डिजिटल कन्टेन्ट क्रियसन सम्बन्धी सीप

पछिल्लो समयमा धेरैले रुचाउने क्षेत्र हो, कन्टेन्ट क्रियसन । होटल, पसल वा कुनै पनि संस्थाको विज्ञापन गर्न होस् वा युट्युब भिडिओमा स्टोरी टेलिङ, यसका लागि कन्टेन्ट क्रियसन एकदमै आवश्यक सीप हो ।

अहिलेको समयमा मानिसहरूलाई इङ्गेज गरिरहन सक्ने र सूचनामूलक कन्टेन्टलाई निकै रुचाइन्छ । त्यसैले आफूले चाहेको फर्म्याट वा लम्बाइमा कन्टेन्ट बनाउनका लागि आर्टिकल लेख्न वा भिडिओ कन्टेन्ट बनाउन यो फुर्सदको समयमा सिक्नु उपयुक्त हुन सक्छ ।

यस्ता कोर्सहरू विभिन्न ई-लर्निङ प्लेटफर्म र युट्युब भिडिओबाट लिन सकिन्छ । उदाहरणका लागि,  ई-लर्निङ प्लेटफर्म एड्ट्रामा डिजिटल गुरु अश्विन न्यौपानेको भिडिओ ‘रिल्स इडिटिङ विथ क्यापकट’ कोर्स नि:शुल्क उपलब्ध छ । यो वा यस्तै कोर्स खोजेर सीप सिक्नु तपाईँका लागि राम्रै हुन्छ ।

वेब डेभलपमेन्ट सम्बन्धी आधारभूत सीप लिन‍े

एचटीएमएल, सीएसएस, जाभास्क्रिप्ट जस्ता आधारभूत प्रोगामिङ ल्याङ्ग्वेज यो समयमा सिक्न सकिन्छ । यो सीप सिकेर आफ्नै पोर्टफोलियोको वेबसाइट समेत बनाउन सकिन्छ । यसले विद्यार्थीको आफ्नै किसिमको अनलाइन सहभागिता तयार हुनेछ । यस्तै कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (सीएमएस) प्रयोग गरेर वर्डप्रेसमा आधारित वेबसाइट बनाउने सीप लिन सकिन्छ । 

यो सीप भविष्यमा विद्यार्थीले जुनसुकै विषयमा अध्ययन गरेपनि आफ्नो कामलाई अनलाइनमा प्रस्तुत गर्नका लागि सहायता प्रदान गर्नेछ । लिङ्क्डइन प्रोफाइल बनाउन सहयोग पुग्ने छ भने कम्प्युटर साइन्स पढ्न चाहने विद्यार्थीलाई थप फाइदा पुर्‍याउने छ । 

यी कोर्सहरू विभिन्न इन्स्टिच्युटले भौतिक वा अनलाइन माध्यमबाट सिकाउने गरेका छन् । तपाईँले आफूलाई पायक गर्ने ठाउँ तथा प्लेटफर्मबाट सहायता लिन सक्नुहुन्छ । 

मल्टिमिडिया

यो छोटो समयमा विद्यार्थीले मल्टिमिडियाका सीप सिक्न सक्छन् । यसमा ग्राफिक्स डिजाइनिङ, भिडिओ एडिटिङ, फोटोग्राफी, फोटो एडिटिङ, लोगो डिजाइनिङ, एनिमेसन आदि सीप पर्छन् ।

यी सीप कुनै पनि इन्स्टिच्युटमा गएर, अनलाइन कोर्स लिएर, युट्युबमा भिडिओ हेरेर सिक्न सक्छन् । कतिपय इन्स्टिच्युटले त्यस्ता प्रकारको सीप सिकाएर इन्टर्नको अवसर पनि दिने गर्छन् । त्यसैले विद्यार्थीले पढ्दै कमाउन पनि सक्छन् । 

आधारभूत डेटा एनालिसिस सीप 

डेटा साइन्स र एआईमा नै आधारभूत डेटा एनलासिस सीपको माग बढ्दो छ । यो सीप प्रविधिसँग जोडिएका जुनसुकै कामका लागि चाहिन्छ । 

डेटा बुझ्न र विश्लेषण गर्नसक्ने क्षमता कुनै रिसर्च गर्न, उद्योगधन्दामा, एनजीओ, आईएनजीओमा काम गर्नका लागि पनि आवश्यक पर्छ । पाइथन, डेटा एनालिसिस, भिजुअलाइजेसन जस्ता कोर्स लिएर यो सीप बढाउन सकिन्छ । 

यो सीप ‌+२ कम्प्युटरसँग सम्बन्धित विषय पढ्ने विद्यार्थीका साथै अन्य जुनसुकै विषयमा पढ्ने विद्यार्थीका लागि उपयुक्त हुन्छ । यस्ता कोर्सहरू नेपालका विभिन्न इन्स्टिच्युटहरूले उपलब्ध गराउँदै आएका छन् ।

एआई सम्बन्धी टुलहरू एक्स्प्लोर गर्ने

फुर्सदको समयमा एआईका विभिन्न टुलहरू एक्स्प्लोर गर्न सकिन्छ । रिसर्चका लागि च्याटजीपीटी, डिपसिक, जेमिनाई उपयुक्त हुनसक्छन् । इमेज जेनेरेट गर्न च्याटजीपीटी, मिडजर्नी, आइडियोग्राम, डिजाइनिङका लागि क्यान्भा, माइक्रोसफ्ट डिजाइनर लगायतका टुलहरूको बारेमा फुर्सदको समयमा सिक्न सकिन्छ । 

यी टुलहरूको सही सदुपयोग गर्ने तरिका सिकाउने कोर्सहरू युट्युबमा पनि उपलब्ध छन् । साथै एड्भान्स्ड जानकारी लिन विभिन्न ई-लर्निङ प्लेटफर्ममा कोर्सहरू पाउन सकिन्छ ।   

यी टुलहरूबारे जानकारी पाउँदा कन्टेन्ट क्रियसनका लागि पनि सहयोग पुग्छ । तर कन्टेन्ट बनाउने क्रममा एआईको प्रयोग कसरी गर्ने, उचित नतिजा पाउन कस्ता प्रम्प्ट प्रयोग गर्ने, एआईको सही सदुपयोग कसरी गर्ने र कसैको कन्टेन्ट चोरी गर्नबाट कसरी जोगिने भन्ने पनि जानकारी लिनुपर्छ । यस्ता जानकारीले भविष्यमा पर्नसक्ने कानुनी झमेलाबाट बचाउन मद्दत गर्छ । 

डिजिटल मार्केटिङ

अहिले कुनै पनि कम्पनी वा ब्रान्डका लागि डिजिटल मार्केटिङको भूमिका अनिवार्य जस्तै भइसकेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या बढिरहँदा डिजिटल मार्केटिङको पनि आवश्यकता र महत्त्व बढ्दो छ । ​

एसईई सकेर बसेका विद्यार्थीले अनलाइन वा भौतिक रूपमा नै इन्स्टिच्युटमा गएर डिजिटल मार्केटिङ सिक्न सक्छन् । यसमा सर्च इन्जिन अप्टिमाइजेस (एसईओ), सर्च इन्जिन मार्केटिङ (एसईएम) आदि सीप सिक्न सकिन्छ । 

हार्डवेयर

सफ्टवेयर मात्र भएर कुनै काम सम्पन्न हुँदैन । त्यहाँ हार्डवेयरको भूमिका पनि उत्तिकै हुन्छ । विभिन्न ट्रेनिङ सेन्टरले कम्प्युटर रिपेयरिङको सीप सिकाइरहेका हुन्छन् । त्यहाँ गएर विद्यार्थीले विभिन्न प्रकारका हार्डवेयर मर्मतबारे तालिम लिन सक्छन् ।

माइक्रोसफ्ट फेस्टमा सहभागी हुनुहोस्

आगामी २६ चैत (८ अप्रिल) मा माइक्रोसफ्टले ‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट २०२५’ को आयोजना गर्दैछ । उक्त कार्यक्रम आयोजना गरेर माइक्रोसफ्टले २४ घण्टाभित्र सबैभन्दा धेरै प्रयोगकर्ताले बहुस्तरीय अनलाइन एआई सम्बन्धी पाठ लिने गिनिज वर्ल्ड रेकर्ड्स को उपाधि हासिल गर्ने लक्ष्य लिएको छ ।

त्यस कार्यक्रममा अनलाइन फारम भरेर सहभागी हुन सकिन्छ । ८ अप्रिलमा हुने कार्यक्रममा सहभागी हुनेले त्यसपछि ५० दिने निःशुल्क एआई तालिममा सहभागी हुने मौका पाउनेछन् । 

उक्त कार्यक्रमका लागि माइक्रोसफ्टले नेपालमा राष्ट्रिय आविष्कार केन्द्र (आईसीटी ल्याब पोखरा) सँग समेत सहकार्य गरेको छ । जसअन्तर्गत नेपालभरबाट अनलाइन माध्यम र कम्तीमा एक हजार जनाले पोखरा, काठमाडौं र दाङमा प्रत्यक्ष सहभागी भएर तालिम लिने अवसर पाउनेछन् । 

यो तालिम पनि फुर्सदको समयका लागि निकै उपयोगी हुन सक्छ । उक्त कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिले यहाँ क्लिक गरेर पनि फाराम भर्नुपर्ने हुन्छ ।

एसईईपछि आईटी शिक्षा

एसईईपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाहेक अरूमा आईटीसम्बन्धी छुट्टै कोर्स छैन । आईटी कोर्स अध्ययन गर्न १२ कक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । 

कक्षा ११/१२ वा ‘ए लेभल’ मा ऐच्छिक विषयमा कम्प्युटर रहेको छ । आईटीमा रुचि भएका विद्यार्थीले एसईईपछि यो विषय चयन गर्न सक्छन् । यदि आईटीको कोर्स नै पढ्ने हो भने सीटीईभीटीले सञ्चालन गर्ने प्रि-डिप्लाेमा (१८ महिने) र डिप्लोमा (३ वर्षे) तहमा भर्ना हुनुपर्ने हुन्छ । 

हाल प्रि-डिप्लोमामा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन तथा सेक्रेटरियल म्यानेजमेन्टकाे कोर्स सञ्चालनमा छन् । यसैगरी डिप्लाेमा तहमा कम्प्युटर इन्जिनियरिङ र इन्फर्मेसन टेक्नाेलाेजी (आईटी)काे पढाइ हुन्छ ।

अहिलेको अवस्थामा सीटीईभीटीले यी कोर्स देशभरका विभिन्न १०६ शैक्षिक संस्थामा सञ्चालन गरिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८१ १६:५३