काठमाडौँ । सामाजिक सुरक्षा कोषले नयाँ वर्षदेखि योगदानकर्ताहरूको परिवारका सदस्यलाई समेत औषधोपचार तथा दुर्घटना सम्बन्धी सेवामा समेट्ने भएको छ । कोषले एक सूचना जारी गर्दै यसका लागि आफ्नो केवाईसी अपडेट गर्न अनुरोध गरेको छ ।
औपचारिक क्षेत्रका योगदानकर्ताहरूका लागि संशोधित कार्यविधि अनुसार १ वैशाख २०८२ देखि योगदानकर्ताका श्रीमान्/श्रीमती र १८ वर्षसम्मका छोराछोरीको पनि औषधी उपचार र दुर्घटना सम्बन्धी सेवा सुरु हुनेछ । सोही सेवा सुविधा प्राप्त गर्न कोषले केवाईसी अपडेटका लागि आग्रह गरेको हो ।
“सो सुविधा प्राप्त गर्न सम्बन्धित सम्पूर्ण योगदानकर्ताले लाभग्राही सबैको राष्ट्रिय परिचयपत्र नम्बर र फोटो सहितको व्यक्तिगत विवरण (केवाईसी) योगदानकर्ता पोर्टल मार्फत अध्यावधिक गर्न हुन सूचीत गरिन्छ,” कोषको सूचनामा भनिएको छ ।
यदि तपाईँ पनि सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रूपमा रहनु भएको छ भने यहाँ क्लिक गरी योगदानकर्ता पोर्टलमार्फत आफ्नो परिवारका सदस्यको केवाईसी अपडेट गराउन सक्नु हुनेछ ।