close

आईफोन अमेरिकामै बन्न सक्ने ट्रम्पको दाबी, विज्ञहरू भन्छन्- सम्भव छैन

टेकपाना टेकपाना

चैत २७, २०८१ ८:५५

आईफोन अमेरिकामै बन्न सक्ने ट्रम्पको दाबी, विज्ञहरू भन्छन्- सम्भव छैन

काठमाडौँ । चीनमाथि लागु गर्न लागिएको उच्च भन्सार शुल्कको समय नजिकिँदै जाँदा ट्रम्प प्रशासनले आईफोनजस्ता उत्पादनहरू अमेरिकामै उत्पादन गर्न सकिने दाबी गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले हालै एप्पल कम्पनीले घोषणा गरेको ५०० अर्ब डलर बराबरको लगानी योजनालाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएकी हुन् ।

“एप्पलले अमेरिकामा ५०० अर्ब डलर लगानी गरिसकेको तपाईंलाई थाहा छ,” लेभिटले भनिन्, “यदि एप्पलले अमेरिकामा उत्पादन सम्भव छैन भन्ने ठानेको भए उसले यति ठूलो लगानी गर्ने थिएन होला ।”

आईफोनको विश्वव्यापी उत्पादन संरचना अमेरिकामा सार्न सकिने र सार्नुपर्ने विषयमा ट्रम्प प्रशासनले दिएको अभिव्यक्तिपछि प्रविधि क्षेत्रमा बहस सुरु भएको छ । धेरै विश्लेषकले ट्रम्प प्रशासनको दाबीलाई व्यवहारिक ठानेका छैनन् । उनीहरूका अनुसार अमेरिकामा आईफोन बनाउँदा एप्पलको लागत अत्यधिक बढ्नेछ । एप्पलले हाल गरिरहेको लगानी सामान्य खर्चअनुसार भएको उनीहरूको विश्लेषण छ ।

मङ्गलबार ह्वाइट हाउसले चीनबाट आयात हुने सामग्रीमा १०४ प्रतिशत भन्सार शुल्क बुधबारदेखि लागु हुने घोषणा गरेपछि शेयर बजारमा गिरावट आएको छ । चीनमा आईफोन उत्पादन गर्ने एप्पलको शेयर करिब ५ प्रतिशतले घटेको छ । वाल स्ट्रिटका विश्लेषकहरू अब आईफोनको मूल्य कति बढ्न सक्छ भन्ने आँकलन गरिरहेका छन् ।

सन् २०१० र २०११ मा तत्कालीन राष्ट्रपति बाराक ओबामासँग भएको भेटमा एप्पलका सहसंस्थापक स्टिभ जब्सले आईफोन अमेरिकाभित्र उत्पादन गर्न सम्भव नहुने स्पष्ट पारेका थिए । जब्सका अनुसार चीनमा रहेका करिब ७ लाख मजदुरलाई सहयोग गर्न ३० हजार दक्ष इन्जिनियर आवश्यक पर्छ, जुन संख्यामा अमेरिकाभित्र उपलब्ध गराउन गाह्रो छ ।

एप्पलका प्रमुख कार्यकारी टिम कुकले पनि सन् २०१७ मा चीनको प्राथमिकता श्रम लागतका कारण नभइ प्राविधिक दक्षता, उत्पादन उपकरणको स्तर र उही स्थानमा ठूलो संख्यामा दक्ष जनशक्ति उपलब्ध भएकै कारण भएको बताएका थिए ।

यसैबिच, अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले “लाखौँ कामदारहरू स–साना स्क्रु जोड्ने कामका लागि अमेरिका आउन सक्छन्” भन्ने टिप्पणी गरेपछि न्युयोर्क टाइम्सकी पत्रकार म्यागी हेबरम्यानले ट्रम्पले यस्तो प्रविधि अमेरिका स्थानान्तरण सम्भव ठान्छन् कि भनेर प्रेस सेक्रेटरी लेभिटसँग सोधेकी थिइन् । जवाफमा, प्रेस सेक्रेटरी लेभिटले ‘अवश्य पनि’ भन्दै अमेरिकासँग आवश्यक स्रोत, श्रमशक्ति र क्षमता रहेको दाबी गरिन् ।

तर विश्लेषकहरूले अमेरिकाभित्र प्राविधिक पूर्वाधार, दक्ष इन्जिनियरको अभाव तथा उत्पादन चक्रमा चाहिने संयन्त्रको कमीका कारण ट्रम्प प्रशासनको दाबी व्यवहारमा लागु गर्न गाह्रो हुने बताएका छन् ।

केही विश्लेषकहरूले कम्पनीलाई आफ्नो सम्पूर्ण उत्पादन रणनीति परिवर्तन गर्न बाध्य पार्नु असम्भव र अव्यवहारिक रहेको बताउँदै आएका छन् । कोरोना महामारीपछि आपूर्ति शृङ्खलामा आएको संकटका कारण एप्पलले चीनबाहिर भारत र भियतनाममा पनि आईफोन उत्पादन विस्तार गरिरहेको छ ।

अहिले आईफोनका अधिकांश भाग अमेरिका बाहिरै उत्पादन हुन्छन् । वेडबुश सेक्युरिटीजका विश्लेषक डान आइभ्स भने, “यदि ट्रम्प प्रशासनले अमेरिकी उत्पादनका लागि उच्च करमार्फत दबाब बढायो भने आजको करिब एक हजार डलर पर्ने आईफोनको मूल्य बढेर ३ हजार ५ सय डलर पुग्न सक्नेछ ।”

पछिल्लो अध्यावधिक: चैत २७, २०८१ ९:१२