close

अब अमेरिकामा बिक्री हुने सबै आईफोन भारतमै बन्ने

टेकपाना टेकपाना

बैशाख १२, २०८२ २०:१५

अब अमेरिकामा बिक्री हुने सबै आईफोन भारतमै बन्ने

काठमाडौँ । एप्पलले अमेरिकामा बिक्री हुने सबै आईफोन भारतमै उत्पादन गर्ने तयारी गरेको छ । द फाइनान्सियल टाइम्सले स्रोतको हवाला दिँदै हालै यस्तो रिपोर्ट प्रकाशित गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चीनसँग चलिरहेको व्यापार युद्धका कारण एप्पलले चीनबाट उत्पादन हटाउने र वैकल्पिक उत्पादन केन्द्र भारततर्फ लैजाने निर्णय गरेको बताइएको छ ।

एप्पलले सन् २०१७ देखि भारतको बेंगलुरुस्थित कारखानाबाट आईफोन सिक्स एस र एसई मोडल उत्पादन गर्दै आएको छ । त्यसबेला चीनबाट आउने सामानमा लाग्ने उच्च करका कारण एप्पलले भारतमा उत्पादन सुरु गरेको थियो ।

हालको तथ्यांक अनुसार विश्वभर बिक्ने आईफोनमध्ये करिब १४ प्रतिशत भारतमै उत्पादन हुने गरेका छन् भने सन् २०२५ को अन्त्यसम्म यो संख्या २५ प्रतिशत पुग्ने विश्लेषकको अनुमान छ । तर अब अमेरिकामा वर्षेनि झण्डै ६ करोड आईफोन बिक्री हुने भएकाले एप्पलले भारतमा उत्पादन झनै दोब्बर पार्ने लक्ष्य लिएको छ ।

चीनबाट आयात हुने सामानमा ट्रम्प सरकारले १४५ प्रतिशतसम्म भन्सार कर लगाउने तयारी गरेको छ । यद्यपि अहिले स्मार्टफोनमा केही समयको लागि छुट दिइएको भए पनि एप्पललाई अझै २० प्रतिशत कर तिर्नु पर्नेछ, जुन ट्रम्पको पहिलो कार्यकालदेखि नै लागु भएको हो ।

भारतले पनि २६ प्रतिशत भन्सार करको सामना गर्नुपरेको छ । तर यो ९० दिनको लागि रोकिएको छ । अमेरिका उपराष्ट्रपति जे.डी. भान्स भारत भ्रमणमा रहँदा अमेरिकामा बिक्री हुने सबै आईफोन भारतमा उत्पादन हुने खबर बाहिरिएको हो ।

सन् २०२४ मा अमेरिका एप्पलको कुल आईफोन बिक्रीको २८ प्रतिशत बजार रहेको थियो । ट्रम्पको नयाँ कर योजनाले एप्पललाई कति असर पार्ने हो भन्नेमा लगानीकर्ता र विश्लेषकहरू अझै अन्योलमा छन् । कम्पनीले चाँडै सार्वजनिक गर्ने त्रैमासिक आम्दानी विवरणमा यसको छनक देख्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ २०:३६