काठमाडौँ । स्वदेशी विद्युतीय सवारी निर्माता यात्री मोटरसाइकल्सले आफ्नो आगामी बाइक पी-टु (P2) को प्रोटोटाइपका लागि नेपालमै पहिलो पटक अस्थायी दर्ता नम्बर प्लेट प्राप्त गरेको छ ।
सामाजिक सञ्जालमा एक पोस्ट राख्दै यात्रीले हालै यातायात व्यवस्था विभागबाट पी-टु प्रोटोटाइपका लागि अस्थायी नम्बर प्लेट पाएको जानकारी दिएको हो । फोटोमा देखिए अनुसार बाइकको प्रोटोटाइपलाई विभागले बागमती प्रदेश ०२००१अ ०००१ नामको नम्बर प्लेटमा दर्ता गरेको छ ।
कम्पनीले यो उपलब्धिलाई ऐतिहासिक भन्दै आफ्ना अनुसन्धान तथा विकास (आर एन्ड डी) प्रयासहरूका लागि महत्त्वपूर्ण प्रोत्साहन भएको जनाएको छ ।
“दर्ता प्रक्रिया नभएको अवस्थादेखि आजको यस उपलब्धिसम्म ... हाम्रो टिमलाई बधाई तथा पी-२ प्रोटोटाइपका लागि देशकै पहिलो ‘अस्थायी दर्ता नम्बर प्लेट’ जारी गरिदिएकोमा यातायात व्यवस्था विभागलाई धेरै धन्यवाद । यो दूरदर्शी र प्रगतिशील सहयोगले हाम्रो अनुसन्धान तथा परीक्षण कार्यमा ठूलो ऊर्जा दिएको छ र स्वदेशी विद्युतीय सवारी नवप्रवर्तनतर्फ एक महत्त्वपूर्ण कदम अगाडि बढाएको छ,” कम्पनीले भनेको छ ।
यसअघि यात्रीले नेपालमै उत्पादित सवारीमध्ये दर्ता हुने पहिलो कम्पनीको रूपमा नाम राखिसकेको छ ।
नेपालमा उत्पादित सवारीसाधन दर्ता नहुने व्यवस्थाका रहँदा यात्रीले बजार विस्तार गर्न सकेको थिएन भने केही समयसम्म उत्पादन कार्यसमेत स्थगन गरेको थियो । यात्रीले बिक्री गरेका बाइक दर्ता नभई नम्बर प्लेट नपाउने समस्या आएपछि यो विषय नीति निर्माण तहमा पुग्यो । लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वर्ष विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै यात्रीलगायत अन्य स्वदेशी सवारी निर्माता कम्पनीका लागि दर्ताको अवसर खुलाएको थियो ।
अस्थायी दर्ता नम्बर प्लेट समेत दिने व्यवस्थाले बाइकको प्रोटोटाइपको परीक्षण र प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने कम्पनीको विश्वास छ ।