काठमाडौँ । सन् २००९ मा डा. विशाल ढकालले घरमा नै डाक्टर पुगेर उपचार गर्ने प्लेटफर्म हेल्थ एट होम सुरु गरे । जुन चिकित्सा क्षेत्रमा नौलो अभ्यास थियो । डा. ढकाल दक्षिण एसियामै पहिलो पटक आफूले घरमै डाक्टर पुगेर बिरामीलाई स्वास्थ्य सेवा दिने प्लेटफर्म सुरु गरेको दाबी गर्छन् ।
उनी भन्छन्, “मेडिकलको किताबमा पनि हस्पिटलपछि बिरामीलाई सेवा दिन के गर्ने भनेर लेखिएको छैन । मेडिकल फिल्डमा एउटा पृष्ठ थप्न पाएकोमा निकै उत्सुक थिएँ ।” हेल्थ एट होम त्यस्तो प्लेटफर्म हो, जसले अस्पताल जानु नपर्ने सामान्य चेकजाँचदेखि अस्पताल जान नसक्ने गम्भीर किसिमका बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।
टेलिफोन सम्पर्कमार्फत स्वास्थ्य सुझाव दिने, आफ्नो काम आफैँ गर्न नसक्ने बिरामीलाई सुसारे अनि जटिल किसिमका बिरामीको नियमित रेखदेखका लागि नर्स उपलब्ध गराउँदै आएको उनले बताए । यस्तै यसै प्लेटफर्मबाट खोप, औषधी, ल्याब जाँच, फिजियोथेरापी, काउन्सिलिङ लगायतका सुविधा लिन सकिन्छ। आफूले चाहेको बेलामा वा सदस्यता लिएर जुनसुकै स्वास्थ्य समस्या परे पनि सेवा लिन सकिन्छ ।
डा ढकालका अनुसार हरेक दिन कम्तीमा १० जना डाक्टर बिरामीहरूको घर घरमा उपचारका लागि पुग्ने गरेका छन् । यस्तै ३० देखि ४० जना नर्सहरू बिरामीको हेरचाहका लागि दैनिक खटिएका हुन्छन् । अहिलेसम्म पाँच हजारभन्दा धेरै व्यक्तिले हेल्थ एट होमको सदस्यता लिइसकेको उनी बताउँछन् । १३ हजार ५०० भन्दा धेरै डाक्टरले हेल्थ एट होम प्रयोग गरेर बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको दाबी समेत उनको छ ।
यसरी सकेसम्म सस्तो मूल्यमा सेवा उपलब्ध गराइएको डा. ढकाल बताउँछन् । उनी भन्छन्, “हाम्रो प्रतिस्पर्धा निजी अस्पतालहरूसँग छैन । पेप्सीकोला बस्ने व्यक्तिलाई वीर अस्पताल लग्दा चाहिने ट्याक्सी भाडा र त्यहाँ लाइन बस्दा, बिरामीलाई खाना र खाजा ओसार्दा र कुर्दा धेरै सास्ती हुन्छ । त्यति दुखको हिसाबमा हाम्रो सेवा किफायती छ।”
यसरी जन्मिएको थियो, ‘हेल्थ एट होम’
पुर्ख्यौली घर महोत्तरी रहेका ढकालले जनकपुरको जानकी बोर्डिङ स्कुलबाट एसएलसी पास गरे । भारतबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरेपछि रसिया पुगेर एमबीबीएस गरे ।
त्यसपछि धरानको एक अस्पतालमा एक वर्ष काम गरेर काठमाडौँ फर्किए । राजधानीको एक क्लिनिकमा काम गरिरहेको बेलामा छात्रवृत्तिमा नाम निकालेर उनी कार्डियाक सर्जरी पढ्न पाकिस्तानको लाहोरको किङ एड्वर्ड मेडिकल विश्वविद्यालयमा पुगे ।
पाकिस्तानकै सबैभन्दा धेरै बिरामीको चाप हुने मध्येको एक हो, किङ एड्वर्ड अस्पताल । त्यहाँ उनले उपचारका क्रममा बिरामीले पाएको सास्तीलाई नजिकबाट नियाल्ने मौका पाए ।
डा. ढकाल भन्छन्, “मुटुको शल्यक्रिया गर्न ६ देखि ८ घण्टासम्म लाग्छ । शल्यक्रियापछि घर फर्किँदा पनि बिरामी पूर्ण रूपमा स्वस्थ भइसकेका हुँदैनथे । अस्पतालबाट डिस्चार्ज गरेर घर पुगेपछि पनि स्ट्रोक हुने, छातीको घाउ पूर्ण रूपमा निको नहुने, पिप बग्ने समस्याहरू हुन्थे ।”
उनी पढाई सकिएपछि एउटा अस्पतालको डाक्टर बनेर मात्र रहन चाहँदैनथे । त्यसैले आफ्नै केही नयाँ व्यवसाय सुरु गर्न पाए हुन्थ्यो भन्ने सोच्थे । उनी इन्टरनेटमा बसेर अन्तर्राष्ट्रिय स्तरमा यस सम्बन्धी के-कस्ता अभ्यास छन् भनेर घण्टौँसम्म खोजी गर्थे । खोजी गर्ने क्रममा उनले अस्पताल बाहिर हेल्थ केयर सर्भिस दिने सेवा दक्षिण एसियामा कतै पनि सुरु नभएको पाए । त्यसैले उनले सन् २००९ मा नेपाल फर्किएर ‘हेल्थ एट होम’ सुरु गरेको डा.ढकाल सुनाउँछन् ।
‘हेल्थ एट होम’को अवधारणा सुन्दा अधिकांशले मन पराएको उनी सम्झन्छन् । “ओछ्यानबाट उठ्नै नसकेका बिरामीलाई उपचार गर्न एक फोन कल गरेर घरमा नै डाक्टर बोलाउन सकिने कुरालाई मानिसहरूले मन नपराउने त कुरा नै थिएन,” उनी भन्छन् ।
प्रविधिको विकाससँगै फेरिँदैछ कम्पनीको स्वरूप
हेल्थ एट होमलाई ‘हाइब्रिड टेक’ कम्पनीको रूपमा परिभाषित गर्छन् डा. ढकाल । कम्पनी सुरु भएको समयमा फोन गरेर डाक्टरलाई बोलाउन सक्नु आफैँमा ठुलो परिवर्तन भएको उनी बताउँछन् ।
प्रविधिमा आइरहेको बदलावसँगै सेवा दिन नयाँ प्रविधिको प्रयोगमा पनि ध्यान दिइरहेको डा. ढकाल सुनाउँछन् । “पहिला मोबाइलमा कल गरेर मात्र डाक्टरलाई बोलाउन सकिन्थ्यो । अहिले ग्राहकहरूसँग जिमेल, ह्वाट्सएप, भाइबरबाट पनि अन्तरक्रिया गर्छौँ,” उनी भन्छन् ।
यस्तै अहिले कम्पनीको डिजिटल रूपान्तरणका विषयमा काम गरिरहेको उनी बताउँछन् । उनका अनुसार भिडिओ कल गरेर डाक्टरले बिरामीलाई स्वास्थ्य सेवा दिने, ‘डाक्टर एट होम’ को एप्लिकेसन विकास गर्ने तथा त्यहीँबाट अपोइनमेन्ट बुकिङ गर्ने प्रणाली बनाउने काम भइरहेको छ । बिस्तारै डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सलाई भित्र्याउने योजना पनि हेल्थ एट होमले बनाएको छ ।