close

२०० मेगापिक्सेल क्यमेरासहित बजारमा आउँदै अनर ४०० र अनर ४०० प्रो, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

बैशाख १८, २०८२ १३:२०

२०० मेगापिक्सेल क्यमेरासहित बजारमा आउँदै अनर ४०० र अनर ४०० प्रो, यस्ता छन् मुख्य फिचर

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले  बजारमा दुई नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ । यही मे महिनामा कम्पनीले अनर ४०० र अनर ४०० प्रो उपलब्ध गराउने तयारी गरेको हो ।

यो सिरिजअन्तर्गत चिनियाँ बजारमा अनर ४०० लाइट सार्वजनिक भइसकेको छ । चिनियाँ स्रोतबाट लिक भएको पछिल्लो जानकारीले बाँकी दुई मोडेलको विशेषता समेत खुलाएको छ ।

अनर ४०० मा ६.५५ इन्चको एलटीपीएस ओलेड स्क्रिन दिइनेछ, जसको रेजोलुसन १.५के हुनेछ । अघिल्लो मोडेलको तुलनामा यसको स्क्रिन सानो हुनेछ । यो स्क्रिनमा एलटीपीओ प्रविधि नहुँदा रिफ्रेस रेट स्टेबल हुने बताइएको छ ।

त्यस्तै, अनर ४०० प्रो मा ६.७ इन्चको स्क्रिन रहनेछ । यसमा पनि १.५के रेजोलुसनसहितको एलटीपीएस ओलेड प्रविधि प्रयोग गरिनेछ ।

पर्फर्मेन्सको कुरा गर्ने हो भने अनर ४०० मा स्न्यापड्रागन सेभेन सिरिजको चिपसेट हुनेछ भने ४०० प्रो मा शक्तिशाली स्न्यापड्रागन एट जेन थ्री चिपसेट समावेश गरिएको छ ।

दुवै मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइनेछ । प्रो संस्करणमा थप रूपमा ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा पनि रहनेछ ।

फोनमा मेटल फ्रेम रहनेछ भने ब्याट्री क्षमता पनि उच्च हुने अनुमान गरिएको छ, जसको सुरुवात ७००० एमएएचबाट हुने बताइएको छ । कम्पनीले यस्ता विशेषतासहितका स्मार्टफोन सार्वजनिक गर्दै प्रतिस्पर्धी बजारमा आफ्नो स्थान अझ मजबुत बनाउने तयारी गरेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १३:५२