काठमाडौँ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि डकुमेन्ट स्क्यान प्रणालीमा नयाँ सुविधा थपेको छ । यसअन्तर्गत गुगल ड्राइभ, फाइल्स बाइ गुगल, पिक्सेल क्यामेरा लगायतका एपहरूमा डकुमेन्ट स्क्यान गर्दा फाइल आफैं स्वचालित रूपमा प्रष्ट, सफा र पढ्न योग्य हुने कम्पनीले जनाएको छ ।
यसअघि प्रयोगकर्तालाई स्क्यान गरिएको डकुमेन्टमा सुधार गर्न फिल्टर मेनुमा जानु पर्थ्यो । अब भने स्क्यान गरेलगत्तै डकुमेन्ट स्वचालित रूपमा प्रष्ट देख्न सकिनेछ ।
स्क्यान सकेपछि स्क्रिनको माथिल्लो दायाँ कुनामा देखिने बटन थिचेर आवश्यक परेमा इन्हान्स (सुधार) हटाउन पनि सकिनेछ ।
यो सुविधा गुगलले आफ्नो ‘एमएलकिट डकुमेन्ट स्क्यानर’ मार्फत ल्याएको हो, जुन एन्ड्रोइडका विभिन्न एपहरूमा एकीकृत गरिएको छ ।
प्रयोगकर्ताको समय बचत गर्ने, सहज अनुभव दिने र स्मार्टफोनको क्यामेरालाई अझ उपयोगी बनाउने लक्ष्यले कम्पनीले यो सुविधा थप गरेको हो ।
डिजिटल डकुमेन्ट म्यानेजमेन्टमा स्मार्टफोन प्रयोग बढ्दो क्रममा रहेका बेला यस्तो सुविधा अत्यन्तै उपयोगी हुने विश्लेषण गरिएको छ । खासगरी स्कुल, कार्यालय वा प्रशासनिक काममा स्क्यान गरिएका डकुमेन्टहरूलाई तत्काल स्पष्ट बनाउनुपर्ने अवस्था आउँदा अब प्रयोगकर्ताले अलग्गै एडिटिङ सीप अपनाउनु पर्नेछैन ।
गुगलको यो नयाँ सुविधा हाल गुगल ड्राइभ र फाइल्स बाइ गुगलमा सुरु भइसकेको छ । छिट्टै अन्य एपहरूमा पनि विस्तार हुने अपेक्षा गरिएको छ ।