close

प्रिशा साह मृत्यु प्रकरण: केआईआईटीमाथि कडा कारबाहीको माग

टेकपाना टेकपाना

बैशाख १९, २०८२ ७:१०

प्रिशा साह मृत्यु प्रकरण: केआईआईटीमाथि कडा कारबाहीको माग

काठमाडौँ । भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा थप एक नेपाली विद्यार्थीको निधन भएपछि अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ओडिशाले विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै एबीभीपीले गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार चुप बसिरहेको भन्दै तत्काल कडा कदम चाल्न आह्वान गरेको छ ।

बिहीबार केआईआईटी अन्तर्राष्ट्रिय छात्रावासमा बीटेक प्रथम वर्ष अध्ययनरत वीरगञ्जकी प्रिशा साह झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

यो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एबीभीपी ओडिशाले राज्य सरकारको मौनताप्रति प्रश्न उठाएको छ । एबीभीपीका राष्ट्रिय महासचिव वीरेद्रसिंह सोलङ्कीले भनेका छन्, “पुनः यस्तो गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार किन चुप लागिरहेको छ ?” उनले घटनालाई ‘घिनलाग्दो र लाजमर्दो’ भन्दै कडा टिप्पणी गरे ।

ओडिशा पूर्वकी एबीभीपी राज्य सचिव दीप्तिमयी प्रतिहारीले विश्वविद्यालयमा आत्महत्याका घटनाहरू पटक–पटक हुनुले यसको विश्वसनीयता माथि प्रश्न उठ्ने बताइन् । उनले तत्काल विश्वविद्यालय प्रशासनमाथि कडा कारबाहीको माग गर्दै मृतक छात्रालाई न्याय दिनुपर्ने माग गरिन् ।

गएको फागुनमा केआईआईटीकै होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको शव फेला परेको थियो । दुई महिनाको फरकमा एउटै होस्टेलमा नेपालका दुई छात्राले ज्यान गुमाएपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ ७:३६