काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले कार्डमा आधारित ‘सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे’ सेवा सुरु गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सहकार्य गरी ल्याइएको यो सेवाबाट सिद्धार्थ बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट)हरूले भिसा र मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा रहेका ग्राहकहरूबाट सजिलै अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ ।
‘सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे’ मार्फत विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, गैरसरकारी संस्था (एनजीओ) लगायतका ईकमर्स सेवा प्रदायकहरूले देश तथा विदेशबाट सहज रूपमा अनलाइन भुक्तानी प्राप्त गर्न सक्ने बताइएको छ ।
यस गेटवेको प्रयोगले कार्ड भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट हटाउने र भुक्तानी प्रक्रिया छिटो, सुरक्षित र विश्वसनीय हुने बैंकको विश्वास छ । बैंकले यस सेवालाई चौबिसै घण्टा ग्राहक सहायता केन्द्रमार्फत सघाउने व्यवस्था समेत गरेको छ ।