काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गरिरहेका व्यक्ति/संस्थाविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २३ बमोजिम अनुमतिपत्र नभई इन्टरनेट सेवा सञ्चालन गर्नु गैरकानुनी भएको स्पष्ट पारेको छ ।
“नेपालका केही स्थानहरूमा विभिन्न व्यक्ति/संस्थाहरूले प्राधिकरणबाट अनुमतिपत्र नलिई इन्टरनेट सेवा सञ्चालन गरेको भन्ने गुनासो प्राप्त भएको छ,” प्राधिकरणले भनेको छ, “उक्त कार्य दूरसञ्चार ऐन, २०५३ को दफा २३ बमोजिम प्राधिकरणको अनुमतिबिना सञ्चालित दूरसञ्चार सेवा (ईमेल सहित इन्टरनेट सेवा समेत पर्न जाने) गैरकानुनी कार्य भएको हुँदा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन बमोजिम कडाइका साथ कानुनी कारबाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो अत्यन्त जरुरी सूचना प्रकाशित गरिएको छ ।”
दूरसञ्चार ऐन, २०५३ को दफा २३ मा नेपालमा दूरसञ्चार सेवा सञ्चालन गर्न अनिवार्य रुपमा अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । ऐनको दफा ४७ (२) अनुसार अनुमति बिना सेवा सञ्चालन गरेको पाइए पाँच लाख रुपैयाँसम्म जरिबाना गरी त्यस्तो काम बन्द गराउने व्यवस्था छ ।