close

कमाउँदै-पढ्दै: नेपालमै विद्यार्थीलाई सातामा २० घण्टा काम र तलबको अवसर

टेकपाना टेकपाना

जेठ १५, २०८२ १६:४२

कमाउँदै-पढ्दै: नेपालमै विद्यार्थीलाई सातामा २० घण्टा काम र तलबको अवसर

काठमाडौँ । सरकारले विद्यार्थीलाई लक्षित गरी ‘कमाउँदै-पढ्दै’ कार्यक्रमलाई प्राथमिकता दिने भएको छ । यस अन्तर्गत उनीहरूले हप्तामा २० घण्टा कामको अवसर र त्यसको न्यूनतम ज्याला पाउनेछन् ।

बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्यमशीलतामैत्री शिक्षालाई प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।

“उद्यमशीलतामैत्री शिक्षालाई प्रोत्साहन गर्न हप्तामा २० घण्टा कामको न्यूनतम ज्यालासहित कमाउँदै–पढ्दै कार्यक्रम सञ्चालन गरिनेछ,” उनले भने ।

बजेटमा विद्यालय शिक्षा पूरा गरेका विद्यार्थीलाई नतिजाका आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षामा आबद्ध गर्न प्रोत्साहित गरिने उल्लेख छ । “उच्च शिक्षा अध्ययन गर्न नसकेका युवालाई सीपमूलक तालिमका माध्यमबाट उद्यमशील बनाइनेछ,” अर्थमन्त्रीले भने, “आगामी वर्ष प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट २६ हजार ९०० युवालाई छ महिनाभन्दा बढी अवधिको तालिम प्रदान गरिनेछ ।”

उनले प्रत्येक प्रदेशमा एक प्राविधिक शिक्षालयलाई छनोट गरी नमूना शिक्षालयका रूपमा स्तरोन्नति गरिने र साधारण विद्यालयका प्राविधिक धारका विद्यार्थीले सीप विकासका लागि त्यस्ता शिक्षालयको पूर्वाधार उपयोग गर्ने व्यवस्था मिलाइने जानकारी दिए । साथै सेवाको प्रकृतिको आधारमा सार्वजनिक निकायमा इन्टर्न परिचालन गरिनेछ ।

समग्र शैक्षिक सुधार तथा उद्यमशीलता प्रवर्द्धनमा शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयका लागि दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १६:४३