close

निरन्तर आम्दानी खस्किएपछि नेपाल टेलिकमलाई रणनीतिक साझेदार र नवीनतम प्रविधि भित्र्याउन सुझाव

टेकपाना टेकपाना

जेठ १६, २०८२ ११:३५

निरन्तर आम्दानी खस्किएपछि नेपाल टेलिकमलाई रणनीतिक साझेदार र नवीनतम प्रविधि भित्र्याउन सुझाव

काठमाडौँ । नेपाल टेलिकमको आम्दानी र नाफा निरन्तर घटेपछि सरकारले कम्पनीमा रणनीतिक साझेदार भित्र्याउन र नवीनतम प्रविधि अपनाउन सुझाव दिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदन २०८२ ले नेपाल टेलिकम अन्य सरकारी संस्थानमध्ये कम जोखिममा देखिए पनि वित्तीय प्रदर्शन र सेवा गुणस्तर सुधार गर्न रणनीतिक हस्तक्षेप आवश्यक रहेको उल्लेख गरेको छ ।

‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको घट्दो सञ्चालन आय र सेवा गुणस्तरको अवस्थालाई सम्बोधन गर्न रणनीतिक साझेदार, नवीनतम प्रविधि र पूँजी विस्तारमार्फत व्यावसायिक क्षमता अभिवृद्धि गर्ने,’ सुझावमा भनिएको छ । 

हालै प्रकाशित आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले पनि कम्पनीको कमजोर वित्तीय अवस्था उजागर गरेको छ । रिपोर्टअनुसार टेलिकमको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४८.६७ प्रतिशतले घटेर दुई अर्ब ८४ करोड रुपैयाँमा झरेको छ ।

गत वर्ष सोही अवधिमा कम्पनीले पाँच अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो भने कुल आय ८.९० प्रतिशतले घटेर २८ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको देखिन्छ ।

कम्पनीले आम्दानी घट्नुको कारण बजारमा तीव्र प्रतिस्पर्धा, ग्राहक व्यवहारमा आएको परिवर्तन, सस्तो प्याकेजको माग र ओटीटी एपहरूको प्रयोग बढ्नुलाई मानेको छ । त्यसैगरी, भ्वाइस सेवाबाट आम्दानीमा कमी, प्राविधिक उपकरणको अभाव र नियामक नीतिमा आएको परिवर्तनले पनि वित्तीय प्रदर्शनमा नकारात्मक असर पारेको कम्पनीको भनाइ छ ।

अहिले नेपाल टेलिकमको कुल सम्पत्ति ८.८० प्रतिशतले घटेर एक खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ भने प्रति शेयर आम्दानी पनि ४१.०२ बाट घटेर २१.०५ रुपैयाँमा पुगेको छ ।
 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ ११:३८