काठमाडौँ । पोखरामा एनपीनोग-१० (npNOG-10) सम्पन्न गरेपछि नेपाल नेटवर्क अपरेटर ग्रुप (एनपीनोग) ले इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) सँग सहकार्य गर्दै आगामी १५ देखि २० जुनसम्म (१-६ असार) काठमाडौँमा एनपीनोग-११ कार्यशाला तथा सम्मेलन आयोजना गर्ने भएको छ ।
हायात सेन्ट्रिकमा हुने उक्त कार्यक्रममा नेटवर्क इन्जिनियर, सिस्टम इन्जिनियर, सूचना प्रविधि विज्ञ, कन्सल्टेन्ट, सूचना प्रविधि तथा इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, सरकारी तथा गैरसरकारी प्राविधिकहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममार्फत नेपालमा आधुनिक डिजिटल पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ । यस अन्तर्गत कार्यशाला १५ देखि १८ जुनसम्म, ट्युटोरियल १९ जुनमा र सम्मेलन २० जुनमा हुनेछ । सहभागीका लागि दिउँसोको खाजा, लन्च, स्टेसनरी तथा चिया/कफी व्यवस्था गरिएको आयोजकको भनाइ छ ।
स्थानीय सहभागीका लागि सम्पूर्ण कार्यक्रमको दर्ता शुल्क २० हजार रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय सहभागीले २०० अमेरिकी डलर तिर्नुपर्नेछ । कार्यशाला मात्रको शुल्क १७ हजार रुपैयाँ, ट्युटोरियल मात्रको शुल्क तीन हजार रुपैयाँ र सम्मेलन मात्रको शुल्क पाँच हजार रुपैयाँ रहेको छ ।
२५ प्रतिशत छुटसहितको अग्रिम दर्ता ५ जुन २०२५ सम्म खुला रहनेछ भने महिला सहभागीका लागि सोही मितिसम्म २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
इच्छुकले यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गर्न सक्नेछन् । सिट संख्या सीमित भएकाले इच्छुकले समयमै दर्ता गर्न आयोजकले अनुरोध गरेको छ ।