close

एआईले लोगोदेखि भिडिओसम्म बनाएपछि साम अल्टम्यानले भने- ‘विज्ञापन एजेन्सीको व्यवसाय खतरामा छ'

टेकपाना टेकपाना

जेठ २०, २०८२ १७:२१

एआईले लोगोदेखि भिडिओसम्म बनाएपछि साम अल्टम्यानले भने- ‘विज्ञापन एजेन्सीको व्यवसाय खतरामा छ'

काठमाडौं । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगका कारण करिब विज्ञापन एजेन्सीहरूका ९५ प्रतिशत काम प्रतिस्थापन हुने प्रक्षेपण गरेका छन् ।

चाँडै प्रकाशित हुने तयारीमा रहेको पुस्तक 'एआई फर्स्ट' (AI First) मा अल्टम्यानले अधिकांश मार्केटिङ रणनीति, विज्ञापन एजेन्सी तथा क्रिएटिभ प्रोफेसनलहरूको काम एआईले सम्हाल्ने अभिव्यक्ति दिएका छन् । उक्त पुस्तक एडम ब्रोम्यान र एन्डी स्याकले संयुक्त रूपमा लेखेका हुन् ।

अल्टम्यानका अनुसार आजको दिनमा प्रयोग भइरहेका अधिकांश मार्केटिङ रणनीति, विज्ञापन एजेन्सी तथा क्रिएटिभ प्रोफेसनलहरूको ९५ प्रतिशत कामहरू एआईले छिट्टै सम्हाल्नेछ । उनी भन्छन्, “एआई टुलहरू यति परिष्कृत भइसकेका छन् कि तिनले लोगो डिजाइन, अनलाइन विज्ञापन निर्माणदेखि लिएर भिडिओ सामग्री समेत सजिलै निर्माण गर्न सक्छन् । यसले गर्दा मानव श्रममा आधारित विज्ञापन कम्पनीहरू कम प्रभावकारी हुनेछन् ।”

तर, विज्ञापन क्षेत्रमा कार्यरत सरोकारवालाहरू भने अल्टम्यानको भनाइमा पूर्ण रूपमा सहमत छैनन् । उनीहरूले एआईले आफ्नो काम लिने नभई उल्टो सजिलो र प्रभावकारी बनाउने बताएका छन् ।

बिजनेस इन्साइडरसँगको कुराकानीमा स्टारबक्स, सेन्ट जर्मेनजस्ता कम्पनीहरूका लागि काम गर्ने बीबीडीओ न्यू योर्ककी एक्जिक्युटिभ क्रिएटिभ डिरेक्टर एलेना नक्सले एआई प्रयोगबाट काम अझ प्रभावकारी बनाएको अनुभव सुनाइन् ।

उनका अनुसार पहिले घण्टौं लाग्ने काम एआईमार्फत छोटो अवधिमा तयार गर्न सकिने भएकाले क्लाइन्टलाई प्रोजेक्टको अवधारणा सजिलै बुझाउन सकिएको छ । ​नक्स भन्छिन्, “हामी अहिले क्लाइन्टलाई कुन विज्ञापनमा कुन सेलिब्रिटीको आवाज उपयुक्त हुन्छ भन्ने ट्रायल समेत एआईमार्फत देखाउँछौं । एआईले प्रोजेक्टको डेमो बनाउने प्रक्रिया समेत सहज बनाइदिएको छ ।”

-बिजनेस इन्साइडर

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १७:२१