काठमाडौँ । नेपालको नबिल बैंकलाई एसिया-प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।
विश्वप्रसिद्ध फाइनान्सियल ग्रुप अन्तर्गतको ‘The Banker’ पत्रिकाले प्रविधिमैत्री सोच, दृष्टिकोण तथा ग्राहक अनुभवमा ल्याइएको डिजिटल क्रान्तिलाई मूल्यांकन गर्दै उक्त पुरस्कार नबिल बैंकलाई प्रदान गरेको हो ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले भने, “यो अवार्डले बैंकको सेवा प्रवाहलाई अझ प्रविधिमैत्री र ग्राहकमैत्री बनाउने प्रेरणा दिएको छ ।”
उनका अनुसार नबिल बैंकले स्थापना कालदेखि नै प्रविधिलाई प्राथमिकतामा राख्दै बैंकिङ सेवामा निरन्तर नवप्रवर्तन गर्दै आएको छ । “हामीले प्रविधिको प्रयोगमार्फत नयाँ आयाम थप्दै ग्राहकलाई सहज र सुलभ सेवा दिँदै आएका छौँ,” ज्ञवालीले भने ।
हालैका वर्षहरूमा नबिल बैंकले डिजिटल सेवालाई विशेष प्राथमिकता दिँदै दिगोपनामा पनि जोड दिएको उनले बताए । कागजी प्रक्रिया घटाउँदै डिजिटल माध्यमबाट छरितो, पारदर्शी र पहुँचयोग्य सेवा प्रवाहमा बैंकको प्रयासलाई नै उच्च मूल्यांकन गर्दै यो अवार्ड प्रदान गरिएको उनको भनाइ छ ।
ज्ञवालीले भने, “हामीले प्रविधिलाई नवप्रवर्तनको शक्ति मानेर रूपान्तरणमुखी रणनीति अपनाएका छौँ । आर्टिफिसियल इन्टेलिजेन्स, डेटा एनालिटिक्स र एनबैंक एपमार्फत ग्राहकअनुकूल सेवा प्रवाहमा उल्लेख्य सुधार गरिरहेका छौँ ।”