काठमाडौँ । ह्वाट्सएपले अटो-डाउनलोड हुने फोटो र भिडिओको गुणस्तर आफैं छनोट गर्न सकिने फिचर ल्याउने तयारी गरेको छ । हाल केही एन्ड्रोइड बेटा प्रयोगकर्ताका लागि उपलब्ध यो फिचर चाँडै नै सबैले प्रयोग गर्न पाउने बताइएको छ ।
वीबेटाइन्फोका अनुसार यो फिचर ह्वाट्सएपको बेटा भर्सन २.२५.१८.११ प्रयोग गरिरहेका प्रयोगकर्ताले पाएका छन् । फिचर प्राप्त गर्ने प्रयोगकर्ताले Settings > Storage and data मेनुमा ‘Auto-download quality’ नामक विकल्प पाउनेछन् । जसमा ‘स्ट्यान्डर्ड क्वालिटी’ र ‘एचडी क्वालिटी’ दुई अप्सन छन् ।
स्ट्यान्डर्ड क्वालिटी रोजेमा मिडिया कम्प्रेस गरिएर अर्थात् सानो साइजमा डाउनलोड हुन्छ । एचडी क्वालिटी रोजेमा उच्च गुणस्तरको मिडिया डाउनलोड हुन्छ । यद्यपि स्ट्यान्डर्ड क्वालिटी रोजे पनि त्यो मिडिया अझै ह्वाट्सएपको सर्भरमा उपलब्ध छ भने च्याटमा गएर म्यानुअली एचडीमा हेर्ने सुविधा हुनेछ ।
नयाँ अपडेटअनुसार ह्वाट्सएपले फोटो र भिडिओ पठाउँदा स्ट्यान्डर्ड र एचडी दुवै भर्सन अपलोड हुने ‘डुअल-अपलोड सिस्टम’ सुरु गरेको छ । कारण के भने ह्वाट्सएपले इन्ड-टु-इन्ड इन्क्रिप्सनको कारणले मिडियालाई आफैं कम्प्रेस गर्न सक्दैन । त्यसैले सेन्डरको मोबाइलबाट दुवै संस्करण सर्भरमा अपलोड हुन्छन् । र, मेसेज पाउनेले आफ्नो सेटिङअनुसार तीमध्ये एउटा डाउनलोड गर्छन् ।