close

कक्षा १२ पछि प्रविधि क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ ? जान्नुहोस् के-के गर्नु पर्छ

गुञ्जा श्रेष्ठ गुञ्जा श्रेष्ठ

जेठ २६, २०८२ १६:४४

कक्षा १२ पछि प्रविधि क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ ? जान्नुहोस् के-के गर्नु पर्छ

प्रविधि उद्योग वास्तवमा के हो ? के यहाँ सफल हुन कोडिङ अनिवार्य छ ? नेपालमै बसेर कस्ता अवसर छन् र ती अवसरका लागि आफूलाई कसरी तयार पार्ने ? यी प्रश्नहरू केवल सतही जिज्ञासा होइनन्, यी हजारौँ युवाको भविष्यसँग जोडिएका महत्त्वपूर्ण सवाल हुन्, जसको विस्तृत उत्तर यहाँ प्रस्तुत गरिएको छ ।

सबैभन्दा पहिले हामीले ‘टेक इन्डस्ट्री’ लाई एउटा साँघुरो परिभाषाबाट बाहिर निकालेर बुझ्न जरुरी छ । धेरैको बुझाइमा यो केवल कोड लेख्ने वा सफ्टवेयर बनाउने काममा मात्र सीमित छ । तर वास्तविकता त्योभन्दा धेरै फराकिलो छ । प्रविधि उद्योग भन्नाले प्राविधिक उत्पादन (Product) वा सेवा (Service) को विकास, वितरण र व्यवस्थापन गर्ने एक समग्र इकोसिस्टमलाई जनाउँछ । उदाहरणका लागि ‘इसेवा’ एउटा उत्पादन हो भने त्यसलाई सञ्चालन गर्न चाहिने प्राविधिक सहयोग, ग्राहक सेवा र निरन्तरको व्यवस्थापन सेवा हो ।

यस बृहत् उद्योगभित्र मुख्यतया दुई धारका भूमिकाहरू हुन्छन्- कोडिङ र नन-कोडिङ । कोडिङ भन्नाले कुनै निश्चित प्रोग्रामिङ भाषा (जस्तै; Java, Python, JavaScript) वा फ्रेमवर्क प्रयोग गरेर सफ्टवेयरको जग तयार पार्ने काम बुझिन्छ । तर, त्यो जगमाथि सुन्दर र बलियो संरचना बनाउन अन्य धेरै भूमिकाहरू आवश्यक पर्छन्, जुन नन-कोडिङ अन्तर्गत पर्दछन् । जस्तै, प्रोजेक्ट म्यानेजरले परियोजनाको योजना बनाउँछन्, क्वालिटी एसुरेन्स (क्यूए) इन्जिनियरले सफ्टवेयरको गुणस्तर परीक्षण गरेर त्रुटिहरू पत्ता लगाउँछन्, यूआई/यूएक्स डिजाइनरले प्रयोगकर्तालाई सजिलो र आकर्षक देखिने इन्टरफेस डिजाइन गर्छन्, र म जस्तै टेक रिक्रुटरले उपयुक्त प्रतिभालाई उपयुक्त स्थानमा नियुक्त गर्न मद्दत गर्छन् ।

हालसालैको एउटा तथ्याङ्कले नेपालमा नन-कोडिङ पदको माग गत वर्षको तुलनामा १५ देखि २० प्रतिशतले वृद्धि भएको देखाएको छ । यसले के देखाउँछ भने, तपाईंलाई कोडिङ मन नपरे पनि प्रविधि क्षेत्रमा अवसरहरूको कमी छैन ।

नेपालमै बसेर पनि प्रविधि क्षेत्रमा काम गर्ने अवसरहरूलाई म चार प्रमुख श्रेणीमा वर्गीकृत गर्न चाहन्छु :

१‍. नेपालमै आधारित कम्पनीहरू- जस्तै; एफवान सफ्ट ग्रुप, जसका उत्पादन र सेवाहरू नेपाली बजारका लागि लक्षित छन् ।

२. आउटसोर्सिङ कम्पनीहरू- जस्तै लिपफ्रग, डियरवाक, भेरिस्क, जसले विदेशी ग्राहकको प्रोजेक्ट नेपालमै बसेर सम्पन्न गराउँछन् ।

३. नेपाली प्रतिभालाई सिधै नियुक्त गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरू- विशेषगरी रिमोट मोडेलमा, विदेशी श्रम ऐनअनुसार काम गराउने ।

४. गिग वर्क वा फ्रिल्यान्सिङ- जहाँ व्यक्ति कुनै निश्चित परियोजनाका लागि स्वतन्त्र रूपमा काम गर्छ ।

यी विभिन्न अवसरहरू देखेर प्लस टु सकेका विद्यार्थीहरूमा बीसीए, बीआईटी वा बीआईएम जस्ता कोर्सहरूमध्ये कुन छान्ने भन्ने अन्योल हुनु स्वाभाविक हो । मेरो सुझाव के छ भने कुनै पनि कोर्सको नामले मात्र तपाईंको भविष्य निर्धारण गर्दैन । कलेजमा भर्ना हुनुअघि पाठ्यक्रमबारे राम्ररी बुझ्नुहोस् । तर अन्तिममा आफूलाई मन परेको विषय छान्नुहोस् । तपाईंले जुनसुकै प्राविधिक कोर्स पढे पनि कलेजको चौंथो वा पाँचौँ सेमेस्टरसम्म पुग्दा तपाईंले आफ्नो वास्तविक रुचि पहिल्याउन थाल्नुहुन्छ । कसैलाई डिजाइनिङको रचनात्मक काममा आनन्द आउन सक्छ, कसैलाई कोडिङको तार्किक प्रक्रियामा । आफ्नो रुचि थाहा पाएपछि युडेमी, कोर्सेरा जस्ता अनलाइन प्लेटफर्मबाट अतिरिक्त ज्ञान र सीप आर्जन गर्न सकिन्छ । 

हामीले नियुक्ति गर्दा फ्रेसरको हकमा सर्टिफिकेटको प्रतिशतभन्दा उनीले कलेजमा गरेका प्रोजेक्ट, ह्याकाथनमा सहभागिता वा गिटहब प्रोफाइल जस्ता व्यवहारिक कुरालाई बढी महत्त्व दिन्छौं । जब तपाईं २-३ वर्ष अनुभवी हुनुहुन्छ, तब डिग्रीभन्दा तपाईंको कामको अनुभव र दक्षताले महत्त्व राख्छ । सिनियर पदमा त माग यति धेरै छ कि हामीले ‘हेड हन्ट’ गरेर मान्छे खोज्नुपर्ने अवस्था छ । तलबको दृष्टिकोणले यो क्षेत्र आकर्षक छ । सामान्यतया सुरुवाती चरणमा (०-२ वर्ष) २० हजारदेखि ५० हजार, २-५ वर्षको अनुभवमा ५० हजारदेखि ९० हजार र पाँच वर्षभन्दा बढी अनुभव भएपछि मासिक एक लाखदेखि दुई लाख वा सोभन्दा बढी कमाउन सकिन्छ । र यो वृद्धिदर अन्य क्षेत्रभन्दा निकै छिटो हुन्छ ।

तर, यी सबै अवसर र आकर्षणका पछाडि केही तीता यथार्थहरू पनि छन् जसलाई नजरअन्दाज गर्न मिल्दैन । नेपालमा इन्टर्नशिप पाउन अझै पनि चुनौतीपूर्ण छ । धेरै कम्पनी इन्टर्नलाई सिकाउन समय र स्रोत खर्च गर्न हिचकिचाउँछन् । यदि अवसर पाइहाल्नुभयो भने कम्पनीले सबै कुरा ‘चम्चाले खुवाएझैँ’ सिकाउँछ भन्ने भ्रममा नपर्नुहोला । तपाईं आफैँ जिज्ञासु, सक्रिय र सिक्न आतुर हुनुपर्छ; आफैँले प्रश्न सोध्ने, आफैँले अनुसन्धान गर्ने र सिनियरबाट काम माग्ने बानी बसाल्नुपर्छ । यद्यपि नेपाली प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र गम्भीर कमजोरी ‘सफ्ट स्किल’को अभाव हो । म आफैँ व्यवस्थापनको विद्यार्थी हुँ, जहाँ हामीलाई चार वर्षसम्म आफूलाई कसरी प्रस्तुत गर्ने, व्यावसायिक रूपमा कसरी संवाद गर्ने र समूहमा कसरी काम गर्ने जस्ता कुरा सिकाइन्छ । 

तर हाम्रो प्राविधिक शिक्षामा यो पक्ष पूर्ण रूपमा छुट्छ । परिणाम स्वरूप प्राविधिक रूपमा अत्यन्तै अब्बल र ‘खतरा प्रोग्रामर’ पनि अन्तर्वार्तामा आफूलाई प्रष्ट रूपमा प्रस्तुत गर्न नसकेर असफल भएको मैले धेरै पटक देखेको छु । विशेषगरी विदेशी ग्राहकसँग सोझै संवाद गर्नुपर्ने आउटसोर्सिङ र फ्रिल्यान्सिङमा त यो सीप बिना सफल हुन असम्भव छ । फ्रिल्यान्सिङ वा गिग इकोनोमीमा जान चाहनेका लागि प्राविधिक सीपका साथै आफूलाई ‘सेल’ गर्ने कला पनि अनिवार्य छ । तपाईंले आफ्नो कामलाई आकर्षक तरिकाले प्रस्तुत गर्न सक्नुपर्छ र लिङ्क्डइन, फिभर, अपवर्क जस्ता प्लेटफर्ममा सक्रिय रहेर आफ्नो उपस्थिति बढाउनुपर्छ । 

सुरुमा अन्तर्राष्ट्रिय ग्राहकसँग काम गर्न, उनीहरूको कार्यशैली र अपेक्षा बुझ्न गाह्रो भए पनि एकपटक बजारमा स्थापित भइसकेपछि कामको अभाव हुँदैन । तर, यसका लागि संवाद कौशल, धैर्य र खुला दिमाग अनिवार्य छ । निष्कर्षमा नेपाली प्रविधि उद्योग सम्भावनाको खानी हो, तर यो केवल कोडिङको साँघुरो घेरामा मात्र सीमित छैन । यस खानीबाट सफलताको सुन निकाल्न प्राविधिक ज्ञानको औजारले मात्र पुग्दैन; यसका लागि निरन्तर सिक्ने भोक, व्यावहारिक सीप र सबैभन्दा महत्त्वपूर्ण, सफ्ट स्किलको सन्तुलित मिश्रण आवश्यक छ । अबको आवश्यकता प्राविधिक ज्ञान मात्र होइन, व्यावसायिक सीप र सिर्जनशीलताले युक्त एक समग्र जनशक्ति निर्माण गर्नु हो, जसले स्थानीय र विश्वव्यापी दुवै बजारमा आफ्नो दरिलो उपस्थिति जनाउन सकोस् ।

(गुञ्जा श्रेष्ठ मानव संसाधन विज्ञ हुन् । उनले २००६ देखि एफवन सफ्ट, डोग्मा ग्रुप, एचएलई नेपाल लगायतका कम्पनीमा काम गरेकी छिन् । हाल उनले भूमिथान नेपाल सञ्चालन गर्दै आएकी छिन् । यो लेख पूर्वशिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले आइतबार सञ्चालन गरेको ‘आईटी करियर काउन्सिलिङ’ कार्यक्रममा गुञ्जा श्रेष्ठले व्यक्त गरेको  विचारमा आधारित छ ।)


 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १६:४४