close

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के प्रधान नियुक्त

टेकपाना टेकपाना

जेठ २८, २०८२ १७:१५

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के प्रधान नियुक्त

काठमाडौँ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्के प्रधानले पाएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयअनुसार बुधबार मास्केलाई उक्त जिम्मेवारी दिएको हो ।

बिलिङ प्रणाली खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर भएपछि प्रबन्ध निर्देशक संगीता पहाडी स्वतः निलम्बनमा परेकी छन् । योसँगै प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत मास्केलाई टेलिकमको निमित्त प्रबन्ध निर्देशकको रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको हो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, *सचिव राधिका अर्यालसहित मन्त्रालय र टेलिकमका अधिकारीहरूको उपस्थिति थियो । 

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई अध्ययन सकेकी हुन्  । उनले २०४९ साल माघ २५ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी रूपमा सेवा गरेकी थिइन् भने २०५१ साल फागुन १० गते स्थायी नियुक्ति पाएकी थिइन् । त्यसयता विभिन्न जिम्मेवारीमा रहेकी मास्के ०७८ माघ १८ गते कम्पनीको नायब प्रबन्ध निर्देशकमा नियुक्त भइन् ।

निमित्त प्रबन्ध निर्देशकको पदभार ग्रहण गर्दै मास्केले विषम परिस्थितिमा आफूलाई नेपाल सरकार तथा मन्त्रालयले दिएको जिम्मेवारीलाई सबैको साथ र सहयोगमा पूर्ण रूपले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, उनले कम्पनीको प्रगति र सेवा प्रवाहमा अझ सशक्त रूपमा अगाडि बढ्ने दृढता व्यक्त गरिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल लगायत १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरू विरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो दाबी गरेको छ । यसअघिका बहालवाला प्रबन्ध निर्देशक पौडेल पनि भ्रष्टाचार मुद्दामा तानिएपछि एक वर्ष रिक्त रहन पुगेको सो पदमा गएको २० भदौ २०८० मा पहाडीले नियुक्ति पाएकी थिइन् ।

(*समाचारमा सचिव राधिका अर्याल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.)

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १७:३७