close

इरानको सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमै इजरायली आक्रमण, विस्फोटको भिडिओ भाइरल

टेकपाना टेकपाना

असार ३, २०८२ ८:१२

इरानको सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमै इजरायली आक्रमण, विस्फोटको भिडिओ भाइरल

काठमाडौँ । इजरायलले इरानको सरकारी टेलिभिजन च्यानल इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को मुख्यालयमा आक्रमण गरेको छ । समाचार प्रत्यक्ष प्रसारण भइरहँदा सोमबार टेलिभिजन च्यानललाई नै लक्षित गरी आक्रमण भएपछि मध्यपूर्वमा इरान र इजरायलबिचको द्वन्द्व थप चर्किएको छ । 

इरानको राजधानी तेहरानमा रहेको आईआरआईबी मुख्यालयमा इजरायलले हवाई आक्रमण गरेको हो । समाचार वाचिका सहार इमामीले ‘देशमाथिको आक्रमण’ भन्दै प्रतिकार जनाइरहेकै बेला एक्कासि विस्फोटको ठुलो आवाज आएको थियो । धुँवा र भग्नावशेष भरिएको दृश्य देखिएपछि उनी स्टुडियोबाट भाग्दै गरेको फुटेज प्रसारण भयो । त्यसपछि ‘अल्लाहू अकबर’ (ईश्वर महान् छन्) भन्दै गरेको आवाज सुनिन्छ । उक्त भिडिओ अहिले अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइल भइरहेको छ । 

इरानी सञ्चारमाध्यमले यस घटनाबाट कम्तीमा एक कर्मचारीको मृत्यु भएको जनाएका छन् ।

इजरायली सेनाले यो आक्रमणलाई आफ्नो ‘अपरेसन राइजिङ लायन’ को हिस्सा भएको बताएको छ । इजरायली सेनाले उक्त टिभी भवनलाई इरानी सशस्त्र बलले नागरिक गतिविधिहरूको आवरणमा प्रयोग गरेको, केन्द्रको पूर्वाधार र सम्पत्तिको सैन्य प्रयोगलाई लुकाएको आरोप लगाएको छ । यद्यपि, उसले यसको लागि कुनै प्रमाण पेस गरेको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो कारबाहीको मुख्य उद्देश्य इरानको सैन्य र आणविक संरचनालाई कमजोर बनाउनु रहेको दाबी गरेका छन् ।

यता इरानको विदेश मन्त्रालयले यो आक्रमणलाई दुष्ट कार्यको संज्ञा दिँदै संयुक्त राष्ट्रसंघलाई कारबाहीको माग गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सञ्चारमाध्यममाथिको सीधै आक्रमण युद्ध अपराध भएको भन्दै यो घटनाको भत्सर्ना गरेका छन् । उनले यसलाई सत्यमाथिको आक्रमण भन्दै अन्तर्राष्ट्रिय समुदायले इजरायलको जवाफदेही माग्नुपर्ने बताएका छन् ।

कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे) ले अक्टोबर २०२३ यता गाजामा इजरायलद्वारा १७८ पत्रकारको हत्या भएको उल्लेख गरेको छ । इरानका लागि संयुक्त राष्ट्रसंघका राजदूत अमिर सइद इरावानीले इरानी टिभी स्टुडियोमा भएको हमलालाई प्रेस स्वतन्त्रतामाथि सीधा आक्रमण भनेका छन् भने इजरायललाई सत्यको मुख्य शत्रु भएको आरोप लगाएका छन् । 

 

पछिल्लो अध्यावधिक: असार ३, २०८२ ८:३२