close

युट्युब गुरु अलख पाण्डेको प्रेरणाले डाक्टर बन्दै फुटपाथमा मोबाइलको कभर बेच्ने २२ वर्षीय युवक

टेकपाना टेकपाना

असार ३, २०८२ १४:३६

युट्युब गुरु अलख पाण्डेको प्रेरणाले डाक्टर बन्दै फुटपाथमा मोबाइलको कभर बेच्ने २२ वर्षीय युवक

काठमाडौँ । भारतको झारखण्ड राज्यस्थित जमसेदपुर सहरका २२ वर्षीय रोहित कुमार बाल्यकालदेखि नै पढाइमा निकै रुचि राख्ने विद्यार्थी थिए । कक्षा ५ सम्म हिन्दी माध्यममा पढेका उनको पढाइप्रतिको गहिरो लगावलाई बुबाले नजिकबाट नियालिरहेका थिए । छोराको भविष्यका लागि खर्चको पर्वाह नगरी उनले रोहितलाई अङ्ग्रेजी माध्यमको विद्यालयमा भर्ना गरिदिए ।

त्यही विद्यालयबाट रोहितले सन् २०१९ मा ७९ प्रतिशत अङ्क ल्याएर आईसीएसई बोर्डबाट म्याट्रिक (१० कक्षा) उत्तीर्ण गरे । तर, परिवारमा कठिनाइ सुरु भयो । सन् २०१२ देखि नै मधुमेहका बिरामी उनका बुबा थला परे । घरको सम्पूर्ण बचत र आम्दानी बुबाको उपचारमै खर्च हुन थाल्यो । सागसब्जी बेचेर दैनिक करिब २५० भारू कमाउने बुबा नै बिरामी भएपछि घरको आर्थिक अवस्था नाजुक बन्यो ।

घरको मुख्य कमाउने व्यक्ति नै थला परेपछि रोहितले अङ्ग्रेजी माध्यमको महँगो विद्यालय छोडेर सरकारी ‘जमसेदपुर वर्कर्स कलेज’मा भर्ना भए । उनी कलेज जानुका साथै घरखर्च चलाउन एउटा फार्मेसीमा पनि काम गर्न थाले । त्यहाँ उनी मासिक १८०० भारू कमाउँथे ।

“फार्मेसीमा काम गर्दा मैले एमबीबीएसको महत्त्व कति हुन्छ भन्ने बुझ्ने मौका पाएँ,” रोहित आफ्नो अनुभव सुनाउँछन्, “तर जब म एमबीबीएस पढ्न के गर्नुपर्छ भनेर सोध्थेँ, धेरैले ‘पहिले इन्टर पास गरेर त देखाऊ’ भन्दै हतोत्साहित गर्थे ।”

यो कुराले उनमा इन्टर पास गरेरै छाड्ने र एमबीबीएसको तयारी गर्ने इख पलायो । उनले त्यही कलेजमा आफ्नो पढाइलाई निरन्तरता दिए । सन् २०२१ मा केवल युट्युब भिडिओ हेरेरै उनले ८९.५ प्रतिशत अङ्क ल्याई इन्टरमिडिएट (१२ कक्षा) मा कलेज टप गरे । लाखौँ खर्च गरेर कोचिङ पढ्दा पनि धेरैलाई उत्तीर्ण हुन कठिन हुने परीक्षामा उनको यो नतिजा असाधारण थियो ।

त्यसपछि उनी निरन्तर एमबीबीएस प्रवेश परीक्षा (NEET-UG) को तयारीमा जुटे। तर, लाखौं शुल्क लाग्ने तयारी कक्षामा भर्ना हुने उनको आर्थिक हैसियत थिएन । त्यसमाथि घरखर्चको जोहो गर्ने जिम्मेवारी पनि उनकै काँधमा थियो । युट्युब भिडिओकै भरमा तयारी गरेका उनले सन् २०२३ को ‘नीट-यूजी’ परीक्षामा ७२० मध्ये ४८५ अङ्क ल्याए ।

रोहितका साथी अनुज सिंहले बीबीसीलाई भने अनुसार उनी दैनिक १२ देखि १३ घण्टासम्म पढ्ने, केही घण्टा सुतेर आम्दानीका लागि काममै खटिन्थे । 

“बिहान ७ बजेदेखि १२ बजेसम्म लाइब्रेरीमा बसेर भिडिओ लेक्चरबाट पढ्थेँ । त्यसपछि पसलमा तीन बजेसम्म काम गर्थेँ । त्यसपछि राति ८ बजेसम्म फेरि लाइब्रेरीमा गएर पढ्थेँ । अनि फेरि घर आएर राति १० बजेदेखि मध्यरात एक बजेसम्म पढ्थेँ,” रोहितले बीबीसी हिन्दीलाई भने । लाइब्रेरीमा पढ्नका लागि उनले मासिक १३०० भारू तिर्नुपर्थ्‍यो । रोहितका अनुसार उनको घरमा पढ्ने ठाउँ थिएन । त्यसैले उनी आफ्ना दाइको पसल नजिकको लाइब्रेरीमा उक्त शुल्क तिरेर पढ्थे । 

“युट्युबबाटै तयारी गर्दा राम्रो अङ्क त आयो, तर त्यो एमबीबीएस पढ्नका लागि पर्याप्त थिएन,” उनी भन्छन्, “यसले मलाई अर्को पटक अझै राम्रो गर्न सकिन्छ भन्ने आत्मविश्वास दियो ।”

यसै क्रममा उनले युट्युबर अलख पाण्डेले सुरु गरेको एडटेक प्लेटफर्म ‘फिजिक्स वाला’ (PW) बारे थाहा पाए । उक्त प्लेटफर्मले सञ्चालन गरेको ‘उमिद ब्याच’ को शुल्क मात्र पाँच हजार भारू थियो । अन्य तयारी कक्षाको तुलनामा यो निकै सस्तो भएकाले उनले उक्त कोर्स किने । 

एकातिर अनलाइन कक्षा लिँदै र अर्कोतिर फुटपाथमा मोबाइल कभर बेचेर घरखर्च जुटाउँदै उनले कठोर परिश्रम गरे ।

उनको मेहनतले रङ्ग ल्यायो र २०२४ को परीक्षामा उनले ७२० मध्ये ६१९ अङ्क हासिल गरे । तर, त्यस वर्ष प्रश्नपत्र बाहिरिएको घटनाले परीक्षा विवादित बन्यो र उनको यो उत्कृष्ट नतिजा अर्थहीन हुन पुग्यो । यो घटनापछि निराश भएका रोहितले डाक्टर बन्ने आशा लगभग मारिसकेका थिए । कक्षा ८ सम्म मात्र पढेका उनका दाइ राहुलले भाइलाई तेस्रो पटक तयारी गर्न प्रेरित गरे । तर, तयारीका लागि लाग्ने खर्च र समयलाई हेरेर रोहित दोधारमा थिए ।

‘फिजिक्स वाला’ ले आफ्ना विद्यार्थीको मेहनत खेर गएकोमा चुप बस्न सकेन र ६०० भन्दा बढी अङ्क ल्याउने सबैलाई निःशुल्क पढाउने घोषणा गर्‍यो । यस घोषणाले रोहितलाई ठुलो राहत मिल्यो र उनले आफ्नो डाक्टर बन्ने सपनालाई पुनः ब्यूँताए । हालै प्रकाशित नतिजामा उनले ७२० मध्ये ५४९ अङ्क ल्याएर २२ लाखभन्दा बढी विद्यार्थीमध्ये १२,४८४ औं स्थानमा पर्न सफल भए ।

उनको यो संघर्षको कथा थाहा पाएपछि ‘फिजिक्स वाला’ का सीईओ अलख पाण्डे आफैँ रोहितले मोबाइल कभर बेच्ने फुटपाथको स्टलमै पुगेर भेटे । उक्त भेटको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पाण्डेले रोहितलाई डाक्टरले लगाउने सेतो कोट दिएर बधाई दिएका थिए । बीबीसी हिन्दीका अनुसार पाण्डेले रोहितको एमबीबीएस अध्ययनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: असार ३, २०८२ १४:५९