close

गुगलको नयाँ एआई फिचर ‘सर्च लाइभ’ सार्वजनिक, बोलेरै कुराकानी गर्न सकिने

टेकपाना टेकपाना

असार ५, २०८२ १०:१८

गुगलको नयाँ एआई फिचर ‘सर्च लाइभ’ सार्वजनिक, बोलेरै कुराकानी गर्न सकिने

काठमाडौँ । गुगलले आफ्नो एआई मोडमा ‘सर्च लाइभ’ (Search Live) नामक नयाँ सुविधा थपेको छ । यो फिचरमार्फत प्रयोगकर्ताले टाइप गर्नुको सट्टा सिधै बोलेरै गुगलसँग कुराकानी गर्न र प्रश्नोत्तर गर्न सक्नेछन् ।

यो सुविधा विशेषगरी हिँडडुल गर्दा वा अन्य काममा व्यस्त हुँदा सर्च गर्न सहज बनाउन ल्याइएको गुगलले जनाएको छ । हाल अमेरिकामा गुगलको ‘एआई मोड’ परीक्षणमा सहभागी प्रयोगकर्ताहरूका लागि मात्र एन्ड्रोइड र आईओएस एपमा सर्च लाइभ सुविधा उपलब्ध छ ।

कसरी गर्छ काम ?

प्रयोगकर्ताले गुगल एप खोलेर नयाँ ‘लाइभ’ आइकनमा ट्याप गरी आफ्नो प्रश्न सोध्न सक्छन् । यसपछि एकपछि अर्को प्रश्न सोधेर कुराकानीलाई निरन्तरता दिन सकिन्छ । गुगलले जवाफसँगै थप जानकारीका लागि स्क्रिनमा वेब लिङ्कहरू पनि उपलब्ध गराउनेछ ।

यो फिचरको अर्को विशेषता भनेको यो अन्य एप चलाउँदा पनि ब्याकग्राउन्डमा काम गरिरहन्छ । साथै, ‘ट्रान्सक्रिप्ट’ अप्सनमार्फत प्रयोगकर्ताले भ्वाइस कुराकानीलाई टेक्स्ट मोडमा पनि हेर्न सक्छन् ।

गुगलको ‘जेमिनाई लाइभ’ फिचरले पनि यस्तै काम गर्छ, जसकारण छुट्टै ‘सर्च लाइभ’ किन आवश्यक पर्‍यो भन्ने प्रश्न उठेको छ । गुगलले यसमा जेमिनाईको एक विशेष भर्सन प्रयोग गरिएको बताएको छ ।

आगामी महिनाहरूमा यसमा क्यामेरा पनि प्रयोग गर्न सकिने सुविधा आउने कम्पनीले जनाएको छ । त्यसपछि प्रयोगकर्ताले आफूले देखिरहेको कुरा क्यामेरबाट देखाएरै प्रश्न सोध्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:२३