close

तपाईंको मोबाइलमा रहेका निजी फोटोमा फेसबुकको नजर, एआई तालिममा प्रयोग हुने आशंका

टेकपाना टेकपाना

असार १४, २०८२ १८:४७

तपाईंको मोबाइलमा रहेका निजी फोटोमा फेसबुकको नजर, एआई तालिममा प्रयोग हुने आशंका

काठमाडौँ । फेसबुक र इन्स्टाग्राममा सार्वजनिक रूपमा अपलोड भएका अर्बौं फोटो प्रयोग गरेर आफ्ना एआई मोडेल तालिम दिँदै आएको मेटाले अब प्रयोगकर्ताको मोबाइलमा सुरक्षित रहेका निजी फोटोसमेत क्लाउडमा अपलोड गराउन थालेको छ ।

टेकक्रन्चको रिपोर्ट अनुसार हाल फेसबुकमा स्टोरी पोस्ट गर्न खोज्दा केही प्रयोगकर्तालाई पप-अप मेसेज देखिन थालेको छ । उक्त सन्देशमा ‘क्लाउड प्रोसेसिङ’ अनुमति दिने कि नदिने भनेर सोधिन्छ । यो सुविधा स्वीकार गरेमा प्रयोगकर्ताको मोबाइलको क्यामेरा रोलमा रहेका फोटोहरू मेटाको क्लाउडमा नियमित रूपमा अपलोड हुनेछन् ।

मेटाका अनुसार, यो सुविधा सक्रिय गरेपछि कम्पनीले प्रयोगकर्ताका पब्लिस नभएका फोटोहरू प्रयोग गरेर ‘कोलाज’, ‘रिक्याप’, ‘एआई रिस्टाइलिङ’ वा ‘थिमेटिक सजेस्टन’ (जस्तै जन्मदिन, ग्राजुएसन) तयार गर्नेछ । तर यसको सर्त अनुसार प्रयोगकर्ताले आफ्ना फोटो र फोटोमा भएका अनुहार तथा वस्तुहरूको विश्लेषण गर्न मेटालाई अनुमति दिनुपर्नेछ । मेटाले ती व्यक्तिगत डेटा स्टोर र प्रयोग गर्न पाउने उल्लेख छ ।

मेटाले यो सुविधा परीक्षणमै रहेको र प्रयोगकर्ताको मञ्जुरीबिना लागु नहुने उल्लेख गरेको छ । तर, मेटाले भविष्यमा पब्लिस नभएका ती फोटो एआई मोडेल प्रशिक्षणका लागि प्रयोग गर्छ वा गर्दैन भन्ने स्पष्ट जवाफ भने दिएको छैन ।

मेटाले यसअघि २००७ देखि फेसबुक र इन्स्टाग्राममा सार्वजनिक रूपमा अपलोड गरिएका सामग्रीबाट एआई मोडेल प्रशिक्षण गरेको स्वीकार गरिसकेको छ ।

मेटाका पब्लिक अफेयर्स म्यानेजर रायन ड्यानियल्सले द भर्जसँग भनेका छन्, “यो परीक्षण प्रयोगकर्ताको फोटोबाट हाम्रो एआई मोडेललाई तालिम दिन प्रयोग गरिएको छैन ।” त्यस्तै, मेटाका कम्युुनिकेसन म्यानेजर मारिया कुबेथाले भने, “यो सुविधा प्रयोगकर्ताले चाहे मात्र प्रयोग हुनेछ र कहिले पनि बन्द गर्न सकिन्छ । क्यामेरा रोलका मिडिया एआई मोडेल सुधार्न प्रयोग गरिएको छैन, केवल सुझावका लागि मात्र हो ।”

तर रिपोर्ट अनुसार, यदि प्रयोगकर्ताले यो सुविधा स्वीकार गरे मेटाले ३० दिनसम्मको क्यामेरा रोल एक्सेस गर्न सक्छ । तर केही केसमा ३० दिनभन्दा पुराना फोटोहरू पनि ‘थिमेटिक सुझाव’ (विवाह, ग्राजुएसन आदि) को आधारमा प्रयोग भइरहेको देखिएको छ ।

साथै, फेसबुकको सेटिङमा गएर यो क्लाउड प्रोसेसिङ सुविधा बन्द गर्न सकिन्छ । बन्द गरेपछि पनि क्लाउडमा अपलोड भएका अनपब्लिस्ड फोटोहरू ३० दिनपछि हटाइने व्यवस्था छ ।

तर विज्ञहरूले यो सुविधा प्रयोगकर्ताको अनुमतिमा आधारित भए पनि यसले निजी डेटामाथि मेटाको पहुँचलाई अझ बढाएको टिप्पणी गरेका छन् । प्रयोगकर्ताले पोस्ट गर्ने निर्णय नलिएरै क्यामेरामा सुरक्षित व्यक्तिगत सामग्री कम्पनीको सिस्टममा जान सक्ने खतरा बढेको छ ।

यसैबिच, टेकक्रन्चले रेडिट पोस्टहरू उद्धृत गर्दै मेटाले पहिल्यै अपलोड भएका केही फोटोमा प्रयोगकर्ताको जानकारीबिना एआई रिस्टाइलिङ सजेसन देखाउन थालेको खुलासा गरेको छ । एउटा प्रयोगकर्ताले भनेकी छिन् कि फेसबुकले उनको विवाहको फोटो बिनाजानकारी स्टुडियो गिब्ली स्टाइलमा परिवर्तन गरिदिएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:५३