काठमाडौँ । लोड हुन धेरै समय लाग्ने र अनावश्यक कुराहरूले धेरै ठाउँ लिने समस्यालाई समाधान गर्ने दाबी सहित नयाँ नेपाली क्यालेन्डर वेब एप नेपक्यालेन्डर (Nepcalendar) सञ्चालनमा आएको छ ।
यो एप मोबाइलमा छिटो लोड हुने र अहिलेसम्म बजारमा आएका क्यालेन्डर एपको तुलनामा बढी प्रयोगकर्तामैत्री रहेको बताइएको छ । साथै, यसमा अत्यावश्यक कुरा मात्र समावेश गरेकाले यो सफा देखिनुका साथै प्रयोग गर्न सजिलो रहेको दाबी गरिएको छ ।
नेपालजस्तो भौगोलिक असमानता भएको ठाउँमा मोबाइल डेटाको बचत गरी प्रयोगकर्तालाई फाइदा पुर्याउने यसको सञ्चालकहरूले बताएका छन् ।
“हाम्रो खोज र परीक्षणलाई आधार मान्दा अन्य क्यालेन्डर साइटहरूभन्दा ‘Nepcalendar’ छ गुणा छिटो रहेको हामीले पाएका छौं । फाइल साइज त झन् आठ गुणा सानो छ । यसले फोनको डेटा निकै बचत गर्छ । हामीले यो वेबसाइट विशेषगरी मोबाइल फोन प्रयोगकर्तालाई ध्यानमा राखेर बनाएका हौं,” एपका निर्माता प्रकाश तिमिल्सिनाले भने ।
तिमिल्सिनाका अनुसार यो एप नेपाली र विदेशी दुवैको सजिलोका लागि नेपाली र अङ्ग्रेजी भाषामा उपलब्ध रहेको तिमिल्सिनाले बताए ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८२ ७:४७
