मोबाइल चार्ज गर्न छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यता, बैतडीका ३ गाउँ अझै अन्धकारमा
साउन ९, २०८२ ८:२
काठमाडौँ । सञ्चार र सूचनाको युगमा बैतडीको पुर्चौडी नगरपालिकाका तीन गाउँका बासिन्दा सामान्य मोबाइल फोन चार्ज गर्नका लागि समेत घण्टौँ हिँडेर छिमेकी जिल्ला बझाङ धाउन बाध्य छन् । एक दशकको अवधिमा तीन ओटा विद्युत् योजना सञ्चालन भएर लाखौँ रुपैयाँ खर्च भए पनि गाउँमा बिजुली नपुग्दा ३०० भन्दा बढी परिवारले यो सास्ती भोग्नुपरेको हो ।
पुर्चौडी नगरपालिका-६, भूमिराजको त्रिकाली, धारुडी र मुडेलीगाउँमा बिजुली बाल्ने सपना देखाउँदै आर्थिक वर्ष २०७२/७३ मा ४० लाख रुपियाँको लागतमा जलविद्युत् योजना सुरु गरिएको थियो । तर, पावरहाउस र नहर बने पनि बिजुली बलेन । स्थानीयले काम गरेको ज्याला समेत नपाएको गुनासो गर्दै त्रिकाली गाउँका तेजबहादुर विष्टले भने, “विद्युत्को नहरमा पैसा बग्यो तर पानी बगेन । बिजुली बाल्ने सपना बोकेर काम गरेका हामीले ज्याला पनि पाएनौँ ।”
पहिलो योजना अलपत्र परेपछि नगरपालिकाले २०८० सालमा राष्ट्रिय प्रसारण लाइन पुर्याउन दोस्रो योजना सुरु गर्यो । तर बजेट अभावमा पोलहरू खोलामा अलपत्र परे । अहिले तेस्रो पटक सङ्घीय सरकारको लगानीमा काम सुरु भएको हल्ला चले पनि निर्माण कार्य अघि नबढेको स्थानीयको भनाइ छ ।
वडाध्यक्ष नरेन्द्र साउदले पहिलेका योजनाबारे आफूलाई जानकारी नभएको र हाल सङ्घीय सरकारको पहलमा काम भइरहेको बताए । यद्यपि, दशकौँदेखिको सपना र करोडौँको लगानी बालुवामा पानी जस्तै भएपछि त्रिकालीका बासिन्दा सामान्य सञ्चार सुविधाका लागि समेत छिमेकी जिल्लाको भर पर्न विवश रहेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८२ ८:२८
