काठमाडौँ । तनहुँ जलविद्युत् आयोजनाले सेती नदी तटीय क्षेत्रका बासिन्दालाई बाढीको सम्भावित खतराबाट जोगाउन पूर्वसूचना प्रणाली जडान गरेको छ । नदी किनारका १७ विभिन्न स्थानमा साइरन जडान गरी बाढी आउनुअघि नै जानकारी दिने आधुनिक 'अर्ली वार्निङ सिस्टम' सञ्चालनमा ल्याइएको हो ।
गत वर्ष असार २२ गते सेती नदीमा आएको ठुलो बाढीबाट पाठ सिक्दै यो प्रणाली जडान गरिएको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए । उनका अनुसार सम्भावित क्षतिलाई रोक्न तीन महिनाअघि नै यो प्रविधि जडान गरिएको थियो ।
१४० मेगावाट क्षमताको यस आयोजनाले १४० मिटर अग्लो बाँध निर्माण गरिरहेको छ । मुख्य बाँध बनाउने ठाउँलाई सुक्खा राख्न नदी फर्काउनका लागि बनाइएको करिब ३७ मिटर अग्लो अस्थायी बाँध (कफर ड्याम) लाई लक्षित गरी यो सूचना प्रणाली जडान गरिएको हो । वर्षायाममा नदीमा पानीको सतह बढेर अस्थायी बाँधबाट पानी बग्न थालेमा वा बाँध नै भत्किने अवस्था आएमा प्रणालीले तुरुन्तै सूचना दिने गौतमले बताए ।
गौतमका अनुसार, हाल सेती नदीमा पानीको सतह औसतमा ३१० देखि ३११ मिटर रहेको छ । पानीको सतह बढेर ३२४ मिटर पुगेपछि सेन्सरले काम गर्न थाल्छ । सतह ३३० मिटर पुग्दा त्यसलाई 'वार्निङ लेभल' मानिन्छ र आयोजनाले उच्च निगरानी सुरु गर्छ । पानीको सतह ३३५ मिटरभन्दा माथि पुगेपछि त्यसलाई जोखिम (खतराको तह) मानिन्छ र सेन्सरले करिब ४ किलोमिटर टाढा रहेको आयोजनाको कार्यालयमा स्वचालित रूपमा जानकारी पठाउँछ ।
खतराको सूचना प्राप्त हुनासाथ आयोजनाले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउन साइरन बजाउँछ । बाँधस्थलदेखि त्रिशूली नदीको घुमाउनेसम्मका १७ स्थानमा जडान गरिएका साइरनले स्थानीयलाई सुरक्षित स्थानमा जान पूर्वजानकारी दिनेछन् ।
यो पूर्वसूचना प्रणाली इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रालिले तयार पारेको प्रविधिमा आधारित रहेको गौतमले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: साउन १४, २०८२ १३:१६
