२ करोड नाघे गिटहब कोपाइलटका प्रयोगकर्ता, एआई कोडिङ बजारमा तीव्र प्रतिस्पर्धा
साउन १५, २०८२ १०:४८
काठमाडौँ । माइक्रोसफ्टको स्वामित्वमा रहेको गिटहबको एआई कोडिङ टुल ‘गिटहब कोपाइलट’ ले दुई करोड प्रयोगकर्ताको आँकडा पार गरेको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नडेलाले बुधबार कम्पनीको त्रैमासिक आय विवरण सार्वजनिक गर्ने क्रममा यो जानकारी दिएका हुन् ।
गिटहबका एक प्रवक्ताले टेकक्रन्चलाई यो संख्या ‘हालसम्मका कुल प्रयोगकर्ता’ (all-time users) को भएको पुष्टि गरेका छन् । यसको अर्थ, पछिल्लो तीन महिनामा मात्रै ५० लाख नयाँ प्रयोगकर्ताले पहिलो पटक गिटहब कोपाइलट प्रयोग गरेका छन् ।
कम्पनीले गत अप्रिलमा यसका प्रयोगकर्ता एक करोड ५० लाख पुगेको रिपोर्ट सार्वजनिक गरेको थियो । यद्यपि, माइक्रोसफ्ट र गिटहबले यी दुई करोडमध्ये कतिजना मासिक वा दैनिक रूपमा सक्रिय छन् भन्ने तथ्यांक सार्वजनिक गरेका छैनन् ।
माइक्रोसफ्टका अनुसार बजारमा उपलब्ध चर्चित एआई कोडिङ टुलमध्ये एक गिटहब कोपाइलटलाई विश्वका प्रमुख कम्पनीहरूको सूची ‘फर्च्युन १००’ मा रहेका ९० प्रतिशत कम्पनीहरूले प्रयोग गर्छन् । इन्टरप्राइज कस्टमरमाझ यसको प्रयोग अघिल्लो त्रैमासको तुलनामा करिब ७५ प्रतिशतले बढेको छ ।
बजारमा यतिबेला एआई कोडिङ टुलहरूको लोकप्रियता बढ्दो छ । नडेलाले सन् २०२४ मा भनेअनुसार, माइक्रोसफ्टले सन् २०१८ मा गिटहबलाई अधिग्रहण गर्दाको समग्र गिटहब व्यवसायभन्दा आज गिटहब कोपाइलट एक्लै ठुलो व्यवसाय बनिसकेको छ ।
सफ्टवेयर इन्जिनियरिङ एक विशिष्ट क्षेत्र भएकाले च्याटजीपीटी, जेमिनाई जस्ता सामान्य च्याटबटको तुलनामा एआई कोडिङ टुलका प्रयोगकर्ता कम छन् । तर, सफ्टवेयर इन्जिनियर र उनीहरूका रोजगारदाता कम्पनीहरू यस्ता टुलका लागि राम्रो शुल्क तिर्न तयार देखिन्छन् ।
यही बजारमा ‘कर्सर’ नामक अर्को एआई कोडिङ टुलले गिटहब कोपाइलटलाई कडा चुनौती दिइरहेको छ । ब्लुमबर्गका अनुसार कर्सरले मार्चमा दैनिक १० लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता भएको र वार्षिक २० करोड डलर आम्दानी गरेको बताएको थियो । हाल कर्सरको वार्षिक आम्दानी ५० करोड डलरभन्दा बढी पुगेको अनुमान छ ।
सुरुमा फरक-फरक डेभलपर अनुभवलाई लक्षित गरे पनि गिटहब कोपाइलट र कर्सर विस्तारै उस्तै उत्पादनहरूमा परिणत हुँदैछन् । दुवै कम्पनीले हालै मानिसका गल्तीहरू पत्ता लगाउन र कोड रिभ्यु गर्न ‘एआई एजेन्ट’ हरू प्रस्तुत गरेका छन् । सीईओ नडेलाले पनि गिटहबको एआई एजेन्टले राम्रो गति लिइरहेको बताएका छन् ।
कर्सरबाहेक, गुगल, ‘डेभिन’ नामक टुलको निर्माता कग्निसन, ओपनएआई र एन्थ्रोपिकजस्ता कम्पनीहरू पनि आफ्नै एआई कोडिङ टुलमार्फत यो बजार जित्ने होडमा छन् ।
-टेकक्रन्चको सहयोगमा
पछिल्लो अध्यावधिक: साउन १५, २०८२ १०:५०
