तपाईंको च्याटजीपीटी कुराकानी अब गोप्य रहेन, हजारौं च्याट गुगलमा सार्वजनिक
साउन १७, २०८२ १७:२३
काठमाडौँ । के तपाईं च्याटजीपीटीसँग गरेका आफ्ना कुराकानी निजी र गोप्य ठान्नुहुन्छ ? यदि त्यसो हो भने, फेरि एकपटक सोच्नुहोस् । एक नयाँ रिपोर्टले हजारौं च्याटजीपीटी कुराकानीहरू लिक भएको खुलासा गरेको छ । रिपोर्टअनुसार अत्यन्तै व्यक्तिगत र संवेदनशील विवरणहरू गुगलले चुपचाप आफ्नो सर्च इन्डेक्समा समावेश गरेको छ । यसको अर्थ, जो कोहीले पनि सामान्य खोज गरेर ती कुराकानी पढ्न सक्छन् ।
यो समस्याको मुख्य जड च्याटजीपीटीको शेयर" (Share) फिचर हो । यो टुलले प्रयोगकर्तालाई आफ्नो कुराकानीको लिङ्क बनाएर अरूलाई पठाउन अनुमति दिन्छ । ताकि उनीहरूले तपाईंको प्रश्न (prompts) र त्यसको एआईले दिएको जवाफ (responses) हेर्न सकून् । तर धेरैलाई के थाहा छैन भने यी सार्वजनिक लिङ्कहरू गोप्य रहँदैनन् । सर्च इन्जिनहरूले यस्ता लिङ्कहरूलाई वेबसाइटको पेज जसरी नै क्रल (Crawl) वा स्क्यान गर्न सक्छन् । अहिले तीमध्ये हजारौं कुराकानी गुगलको सर्च रिजल्टमा देखिन थालेका छन् ।
एक साधारण गुगल सर्च site:chatgpt.com/share को प्रयोग गरेर हेर्दा करिब ४,५०० भन्दा बढी यस्ता च्याटहरू गुगलको इन्डेक्समा रहेको पाइएको छ । तीमध्ये धेरैमा यस्ता विवरणहरू छन् जुन तपाईं कुनै अपरिचित व्यक्तिले पढेको चाहनुहुन्न होला । जस्तै: मानसिक आघातका कथाहरू, सम्बन्धका समस्या, स्वास्थ्यसम्बन्धी चिन्ता, अफिसका गुनासाहरू र यहाँसम्म कि गोप्य व्यापारिक योजनाहरू पनि ।

कस्ता जोखिम छन् ?
च्याटजीपीटीमा ‘शेयर’ बटन क्लिक गर्नासाथ यसले एउटा सार्वजनिक लिङ्क बनाउँछ, जुन जो कोहीले खोल्न सक्छन् । त्यो लिङ्कमा तपाईंको नाम नहुन सक्छ । तर यदि कुराकानीमा आफ्नो नाम, ईमेल, बायोडेटा, कम्पनीको विवरण वा ठेगाना जस्ता पहिचान खुल्ने जानकारी उल्लेख गर्नुभएको छ भने बुझ्नुस् त्यो सबैको पहुँचमा पुग्नसक्छ ।
एकपटक शेयर गरिएको लिङ्क मेटाए पनि गुगलको 'क्यास' (cached) पेज र सर्च इन्जिनले आफ्नो इन्डेक्स रिफ्रेस गर्न लाग्ने समयका कारण त्यो केही समयसम्म देखिन सक्छ ।
यदि यो लिङ्क सामाजिक सञ्जाल वा कुनै वेबसाइटमा शेयर गर्नुभयो भने गुगलका बोटले त्यसलाई सजिलै पत्ता लगाउँछन् । अझ तपाईंले लिङ्क बनाउँदा 'Make this chat discoverable' को बक्समा टिक गर्नुभयो भने त्यो स्वचालित रूपमै गुगलमा उपलब्ध हुन्छ ।
मानिसहरूले च्याटजीपीटीलाई आफ्नो व्यक्तिगत डायरी वा मानसिक सल्लाहकारको रूपमा प्रयोग गरिरहेका छन् । यसरी व्यक्तिगत कुरा सार्वजनिक हुँदा मानसिक स्वास्थ्य, सम्बन्ध वा अन्य संवेदनशील विषयमा खुलेर कुरा गर्ने प्रयोगकर्ताको गोपनीयता भंग हुन सक्छ ।
त्यसैगरी, नयाँ उत्पादन वा मार्केटिङ योजनाका लागि च्याटजीपीटी प्रयोग गर्ने कम्पनीहरूले अनजानमा आफ्ना गोप्य जानकारी सार्वजनिक गर्न सक्छन् । सायद यही कारणले गर्दा ओपनएआईका सीईओ साम अल्टम्यानले प्रयोगकर्तालाई च्याटजीपीटीसँग संवेदनशील व्यक्तिगत विवरण शेयर नगर्न चेतावनी दिएका थिए ।
अहिले इन्टरनेट प्रयोगकर्ताहरूले रेडिट (Reddit) जस्ता प्लेटफर्ममा आफूले फेला पारेका डरलाग्दा र संवेदनशील जानकारीका घटना शेयर गरिरहेका छन् । एक रेडिट प्रयोगकर्ताले लेखेका छन्, “मैले एकजना व्यक्तिको बायोडेटा (resume) बनाउने बारेको कुराकानी भेट्टाएँ । त्यसमा उनको पूरा नाम, फोन नम्बर, ईमेल, ठेगाना र कामको विस्तृत विवरण थियो ।”
अर्का प्रयोगकर्ताले बेलायतमा कुनै शंकास्पद प्याकेज पठाउने बारेको गोप्य सन्देशसमेत फेला पारेको बताए । यसैगरी, प्रयोगकर्ताहरूले भावनात्मक पीडा, मानसिक आघात, बालबच्चाको नाम, घरको ठेगाना र व्यक्तिगत तस्बिरहरू समेत समावेश भएका कुराकानीहरू सार्वजनिक भएको फेला पारेका छन् ।
साइबरन्युजको अनुसन्धान टोलीका अनुसार धेरै घटनाहरूमा व्यक्तिगत पहिचान खुल्ने डेटासार्वजनिक भएका छन् । “यस्तो जानकारी ह्यारेसमेन्ट वा डक्सिङ (doxxing) का लागि प्रयोग हुन सक्छ । यदि यी कुराकानीहरूमा विवादास्पद सामग्री छन् भने त्यसलाई यस्तो ह्यारेसमेन्टको हतियार बनाउन सकिन्छ,” साइबरन्युजले लेखेको छ ।
अब के गर्ने त ?
आत्तिनु पर्दैन, तर अबदेखि सावधान हुनुहोस् । यहाँ केही उपाय छन्:
-
कुनै पनि हालतमा आफ्नो व्यक्तिगत, वित्तीय वा गोप्य जानकारी च्याटजीपीटीलाई नसुनाउनुहोस् ।
-
यदि तपाईंलाई च्याटजीपीटीको जवाफ कसैलाई शेयर गर्नैपर्छ भने लिङ्क पठाउनुको सट्टा टेक्स्टलाई कपि-पेस्ट गर्नुहोस् वा स्क्रिनशट लिनुहोस् ।
-
तपाईंले च्याटजीपीटीको सेटिङ्समा गएर ‘Shared Links’ ड्यासबोर्डबाट आफूले शेयर गरेका लिङ्कहरू हेर्न र मेटाउन सक्नुहुन्छ । यसका लागि च्याटजीपीटीको Settings > Data controls > Shared Links मा जानुहोस् । यहाँ तपाईंले शेयर गरेका प्रत्येक कुराकानीलाई छुट्टाछुट्टै वा सबैलाई एकैपटक मेटाउने विकल्प पाउनुहुनेछ ।
-
ध्यान दिनुहोस् कि च्याटजीपीटीमा च्याट मेटाउँदैमा शेयर गरिएको सार्वजनिक लिङ्क आफैं मेटिँदैन । सार्वजनिक लिङ्क हटाउन तपाईंले माथि उल्लेखित प्रक्रिया अपनाउनै पर्छ ।
-
एकपटक लिङ्क मेटाएपछि गुगल सर्चमा केही समयसम्म त्यसको नतिजा देखिन सक्छ । तर लिङ्कमा क्लिक गर्दा पेज नट फाउन्ड (page not found) सन्देश आउनेछ ।
-
site:chatgpt.com/share सँगै आफ्नो नाम वा कुनै विषय राखेर गुगलमा सर्च गरेर आफ्नो कुनै कुराकानी सार्वजनिक भएको छ कि छैन भनेर जाँच गर्न सक्नुहुन्छ ।
बुझ्नुपर्ने कुरा के हो भने अहिलेका एआई टुलहरू निजी नोटबुक जस्तो महसुस भए पनि तिनीहरू क्लाउड डकुमेन्टजस्तै काम गर्न डिजाइन गरिएका हुन्छन् । त्यसैले, अर्को पटक तपाईंले आफ्नो प्रेम जीवन, व्यापारिक रणनीति वा कुनै नयाँ विचारबारे च्याटजीपीटीसँग कुरा गर्दा आफैँलाई सोध्नुहोस् - के म यो कुरा गुगल सर्चमा देखियोस् भन्ने चाहन्छु ? किनकि, इन्टरनेटले केही पनि बिर्सँदैन ।
फिचर हटाउँदै ओपनएआई
यो घटना सार्वजनिक भएपछि ओपनएआईका प्रमुख सूचना सुरक्षा अधिकारी डेन स्टकीले कम्पनीले च्याटजीपीटी एपबाट यो फिचर हटाउने योजना बनाएको जानकारी दिएका छन् । उनले एक्समा पोस्ट गर्दै लेखे, “यो मानिसहरूलाई उपयोगी कुराकानीहरू पत्ता लगाउन मद्दत गर्ने एउटा छोटो अवधिको प्रयोग थियो ।”
उनले थपे, “अन्ततः, हामीलाई लाग्छ कि यस फिचरले मानिसहरूलाई नचाहेका कुराहरू गल्तीले शेयर गर्ने धेरै अवसरहरू सिर्जना गर्यो । त्यसैले हामी यो विकल्प हटाइरहेका छौं । हामी सम्बन्धित सर्च इन्जिनहरूबाट इन्डेक्स गरिएका सामग्रीहरू हटाउन पनि काम गरिरहेका छौं ।”
We just removed a feature from @ChatGPTapp that allowed users to make their conversations discoverable by search engines, such as Google. This was a short-lived experiment to help people discover useful conversations. This feature required users to opt-in, first by picking a chat… pic.twitter.com/mGI3lF05Ua
— DANΞ (@cryps1s) July 31, 2025
पछिल्लो अध्यावधिक: साउन १७, २०८२ १८:१
