‘नाइमा मोबिलिटी एक्स्पो’ को तयारी अन्तिम चरणमा, ३५ नयाँ सवारीसँगै ईभीमा आकर्षण हुने
साउन १८, २०८२ १६:२
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
२१ साउनदेखि पाँच दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरूको सहभागिता रहनेछ । यसअन्तर्गत विभिन्न ब्रान्डका विद्युतीय सवारी (ईभी) हरू मुख्य आकर्षण बन्ने बताइएको छ । विभिन्न ईभी ब्रान्डले नाइमा एक्स्पोका लागि नयाँ मोडेल भित्र्याइसकेका छन् ।
एक्स्पोमा १५ ओटा दुईपाङ्ग्रे, १५ ओटा चारपाङ्ग्रे र पाँच ओटा व्यावसायिक गरी कुल ३५ नयाँ सवारीसाधन सार्वजनिक गरिने नाइमाले जानकारी दिएको छ ।
एक्स्पोलाई व्यवस्थित र सुरक्षित बनाउन प्रदर्शनी स्थलमा अपाङ्गमैत्री संरचना, सुधारिएको ढल निकास तथा सुरक्षा र आपतकालीन सेवाको व्यवस्था मिलाइएको छ ।
प्रदर्शनी केन्द्र निर्माणको जिम्मा पाएको मिडिया स्पेस सोलुसन्सका संस्थापक श्रीजल भट्टराईले यस पटक अन्तर्राष्ट्रिय स्तरको संरचना निर्माण भइरहेको बताए । “नेपालमै पहिलो पटक डबल प्लाई सहितको संरचना निर्माण गर्दैछौं, जसले उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ,” उनले भने ।
एक्स्पो अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै प्रवेश टिकट ‘खल्ती बाई आईएमई’ एपमार्फत अग्रिम खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै, पार्किङको समस्या समाधान गर्न नाइमाले पठाओसँग सहकार्य गरिएको छ, जसअन्तर्गत भृकुटीमण्डप जाने पठाओ राइडमा ३० प्रतिशतसम्मको छुट पाइनेछ ।
पछिल्लो अध्यावधिक: साउन १९, २०८२ १३:२७
