close

१८ सयको पछ्यौरी ५०० मै पाउने फेसबुक विज्ञापनमा लोभिंदा एक महिलाले यसरी गुमाइन् ४८ हजार

टेकपाना टेकपाना

साउन २३, २०८२ १९:८

१८ सयको पछ्यौरी ५०० मै पाउने फेसबुक विज्ञापनमा लोभिंदा एक महिलाले यसरी गुमाइन् ४८ हजार

काठमाडौँ । फेसबुकमा स्क्रोल गर्दै गर्दा भक्तपुरकी २६ वर्षीया सम्झना शर्मा (परिवर्तित नाम) को नजर एउटा रङ्गीन विज्ञापनमा गएर टक्क अडियो । त्यो विज्ञापन कुनै साधारण र दिनहुँ प्रयोगमा आउने पछ्यौरीको थियो । पछ्यौरी पसलमै गएर किन्ने सुविधा हुन्छ, अझ भौतिक रूपमा जाँदा आफैँले जाँच गर्न पाइन्छ । 

तर, पोस्टरमा देखिएको उक्त पछ्यौरीको सुन्दरताले जोकोहीलाई एकछिन घोत्लिन बाध्य बनाउँथ्यो । सुन्दरताभन्दा पनि अझ आकर्षक थियो- त्यसको मूल्य ।

बजारमा १८ सय रुपैयाँ पर्ने पछ्यौरी विशेष छुटमा मात्र ५०० रुपैयाँमा बिक्री गर्न लागेको उल्लेख थियो त्यहाँ । पछ्यौरीको बजार मूल्य १८०० नै निकै कम भएको जस्तो देखिन्थ्यो । झन् ५०० रुपैयाँमै उपलब्ध गराउने भनिएको थियो । यही आकर्षक अफरले सम्झनाको मनमा तुरुन्तै तरङ्ग पैदा गरिदियो ।

“एक त पछ्यौरीको डिजाइन नै यति राम्रो । त्यसमाथि यति सस्तो,” काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पिल्लर ३ मा आएकी सम्झना आफ्नो व्यथा सुनाउँदै भन्छिन्, “मैले धेरै सोचिनँ, विज्ञापनमा दिइएको ह्वाट्सएप नम्बरमा तुरुन्तै मेसेज गरिहालें ।”

यसरी सुरु भयो आकर्षक र सस्तो पछ्यौरीको आडमा विश्वासको घुम्टो ओढाएर लुट मच्चा एउटा योजनाबद्ध खेल । ह्वाट्सएपमा सम्झनाले मेसेज पठाउनासाथ उताबाट निकै शिष्ट र व्यावसायिक शैलीमा जवाफ आयो । 

अपरिचित व्यापारीले उनलाई रोजाइका अरू पछ्यौरीको फोटो पनि देखाए । विज्ञापनको भन्दा पनि आकर्षक डिजाइन देखेपछि सम्झना झनै लोभिइन् । तीमध्ये रातो रङको एउटा पछ्यौरीले त उनको मनै खिच्यो । त्यही किन्‍ने अन्तिम निर्णय गरेपछि व्यापारीले उनको लोकेसन माग्यो । 

सम्झनाले आफ्नो कोठा नजिकैको एक पार्कको लोकेसन दिइन्, जहाँ सामान डेलिभरी गर्न सजिलो हुन्थ्यो । उनी त्यसअघि पनि त्यही लोकेसन राख्ने गर्थिन् ।

अब ठगले आफ्नो पासोको अर्को डोरी फ्याँक्यो । “म्याम, यो ‘हेभी डिस्काउन्ट’मा गएको सामान हो,” व्यापारीले विश्वस्त बनाउँदै भन्यो, “हामीले पठाएको सामान सुरक्षित रूपमा तपाईंको हातमा पुगोस् र कुनै गडबड नहोस् भनेर हामी ग्यारेन्टी दिन्छौँ । त्यसका लागि तपाईंले पछ्य‍ाैरीको मूल्य ५०० रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्छ ।”

मन परेको पछ्यौरी, त्यो पनि लगभग सित्तैमा पाए जस्तै मूल्यमा थियो !

सम्झनालाई यो मौका गुमाउनु थिएन । अनलाइनमा हुने ठगीबारे फाट्टफुट्ट सुने पनि उनले मनलाई सम्झाइन् । “अनलाइनको सामानमा पूरै विश्वास त थिएन,” उनी त्यो बेलाको आफ्नो मन र मस्तिष्कको द्वन्द्व सम्झिन्छिन्, “तर जम्मा ५०० को त कुरा थियो । यदि सामान ल्याइदियो भने त भाग्यमानी भइहालें, ल्याएन भने पनि ५०० रुपैयाँ नै त जाने हो । यति राम्रो चीजका लागि यति जोखिम लिनु ठिकै हो जस्तो लाग्यो ।”

यही सोचेर उनले व्यापारीले उपलब्ध गराएको क्यूआर कोडमा तुरुन्तै ५०० रुपैयाँ पठाइ दिइन् र भुक्तानी सफल भएको स्क्रिनशट पनि पठाइन् । स्क्रिनशट पाएपछि ती व्यापारीले ‘हुन्छ, म हेरेर खबर गर्छु’ भन्ने मेसेज पठाए । 

पैसा पठाएको करिब पाँच मिनेटसम्म सबै कुरा सामान्य थियो । तर, त्यसपछि व्यापारीको एउटा मेसेज आयो । “हेर्नु न म्याम, के भयो भयो ! तपाईंले पठाएको पैसा मेरो खातामा नआएर ‘होल्ड’मा बसेछ,” व्यापारीले भन्यो, “तपाईंको खाताबाट पैसा काटिसक्यो, तर यहाँ आइपुगेको छैन । पठाउँदा केही गडबड भए जस्तो छ ।”

‘रकम होल्ड भयो’ भन्ने शब्द नै सम्झनाका लागि बिल्कुलै नयाँ थियो । उनले यसअघि कहिल्यै यस्तो समस्या भोगेकी थिइनन् । सामान्यतया क्यूआर स्क्यान गरेपछि रकम तुरुन्तै अर्को खातामा पुग्थ्यो । “अब के गर्ने होला त दाइ ?” उनले आत्तिएर सोधिन् ।

“तपाईंलाई फेरि पैसा पठाउनुस् भन्न पनि गाह्रो भयो । यतिकै छोडौँ, पैसा बीचमै अड्किएको छ,” ठगले सहानुभूतिको भाव देखाउँदै भन्यो, “के समस्या रहेछ, म आफैँ हेरिदिन्छु नि । एक पटक भिडिओ कलमा आएर आफ्नो मोबाइलको स्क्रिन शेयर गर्नुहुन्छ कि ?”

आफ्नो ५०० रुपैयाँ डुब्न लाग्यो भन्ने चिन्ता र व्यापारीको सहयोगी व्यवहारबाट प्रभावित भएकी सम्झनाले धेरै सोचविचार गरिनन् । व्यापारीको सन्तोषजनक व्यवहारले पनि उनलाई धेरै सोच्न बाध्य नै बनाएन । तर, उनी डिजिटल संसारको एउटा चोरलाई आफ्नो घरको ढोका देखाएर त्यसलाई खोल्ने चाबी नै सुम्पिँदै थिइन् । 

उनले ‘हुन्छ दाइ, हेर्नु न’ भनिन् । भिडिओ कल सुरु भयो । ठगले शान्त र सहयोगी आवाजमा निर्देशन दिँदै गयो, “वालेट खोल्नुहोस्, स्टेटमेन्ट चेक गर्नुहोस्, पेमेन्ट अप्सन हेर्नुहोस्, प्रोफाइल खोल्नुहोस्, यता क्लिक गर्नुहोस्, उता जानुहोस्…”

सम्झनाले उसको हरेक निर्देशनलाई विश्वासका साथ पालना गरिन् । उसको आँखाले सम्झनाको स्क्रिनमा देखिने हरेक अंक, हरेक अक्षर र सबैभन्दा महत्त्वपूर्ण ‘मोबाइलमा आउने ओटीपी कोड’ नै पढिरहेको थियो ।

“ल हुन्छ म्याम, प्रोसेसको लागि अगाडि बढ्यो । अब तपाईंको होल्ड भएको पैसा केही बेरमा फिर्ता आउँछ होला । म खबर गर्छु,” उक्त छद्मभेषि व्यापारीले आश्वस्त पार्दै भन्यो ।”

सम्झना ढुक्क भइन् र अब पछ्यौरी आउनेछ भन्ने कल्पनामा डुबिन् । तर, त्यो दिन पछ्यौरी आउनुपर्नेमा उनको मोबाइलमा यस्तो मेसेज आयो, जसले उनलाई एकै पटक छाँगाबाट नै खसालिदियो ।

उक्त मेसेजमा लेखिएको थियो, “तपाईंको खाताबाट ४८ हजार रुपैयाँ झिकिएको छ ।”

उनले पैसा कसले निकाल्यो होला भन्ने सोच्न थालिन् । पछिल्लो समय उनले बैंक अकाउन्ट त्यति प्रयोग गरेकी थिइनन् । ह्वाट्सएपका व्यापारीलाई वालेटबाटै रकम पठाएकी थिइन् । पछि थाहा भयो रकम वालेटमा लिङ्क गरिएको बैंक खातामा पहुँच पुर्‍याएर चोरिएको रहेछ । एउटा सुन्दर पछ्यौरीको लोभमा उनको बैंक खाता क्षणभरमै रित्तियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार यो घटना अनलाइन ठगीको बदलिँदो र झनै खतरनाक स्वरूपको ज्वलन्त उदाहरण हो । 

“ठगले भिडिओ कलमा स्क्रिन शेयर गराउने बहानामा कुरामा अल्झाएर पीडितको मोबाइलमा आएको ओटीपी कोड चोरेको देखिन्छ,” एसपी आचार्य भन्छन्, “एक पटक ओटीपी हात परेपछि उसले वालेटको पूरा पहुँच पायो । त्यही वालेटसँग लिङ्क भएको बैंक खातामा प्रवेश गरेर उसले सबै रकम आफ्नो खातामा सार्‍यो ।”

प्रहरीका अनुसार अहिलेका ठग पहिलेभन्दा धेरै चतुर भएका छन् । “पहिले-पहिले उनीहरू सिधै ‘तपाईंको मोबाइलमा कोड आएको होला, दिनुहोस्’ भनेर सोध्थे,” एसपी आचार्य थप्छन्, “तर अब मानिसले त्यसरी सिधै ओटीपी दिनुहुँदैन भन्ने बुझेका छन् । त्यसैले ठगले विश्वास जित्न र झुक्याउनका लागि ‘पैसा होल्ड भयो’, ‘तपाईंलाई पुरस्कार परेको छ’, ‘तपाईंको केवाईसी अपडेट गर्नुपर्‍यो’ जस्ता अनेकौं नयाँ बहाना र तरिका अपनाइरहेका छन् ।”

एउटा आकर्षक अफर, एकछिनको लोभ र विश्वासको एउटा सानो गल्तीले कसरी वर्षौंको कमाइ क्षणभरमै खरानी बनाइदिन सक्छ । सम्झनाका लागि ‘४८ हजार’ महिनौंको बचत हुनसक्छ । तर, ठगका लागि त्यो रकम एकछिनको कमाइ हो । खातामा भएको कुल ४८ हजार नै चोरी भयो । तर, लाखौं रकम जम्मा भएको भयो सबै लुटिन्थ्यो । डिजिटल बैंकिङ एप प्रयोग गर्न थालेका व्यक्तिलाई आफन्त र बैंकले समय समयमा सचेत बनाउनुपर्नेमा प्रहरी उपरीक्षक आचार्य जोड दिन्छन् ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८२ १९:१२