सामान्य किबोर्डबाटै ह्याक हुन सक्छ तपाईँको कम्प्युटर, यस्तो छ नेपाली विद्यार्थीको प्रोजेक्ट
साउन २४, २०८२ १३:१
काठमाडौँ । हामीले आफ्ना हजारौँ संवेदनशील डेटा रहेको ल्यापटपमा चाहिने किबोर्ड, माउस, एडप्टर लगायतका सामान समय समयमा बजारबाट किनेर प्रयोग गरिरहेका हुन्छौँ । तर त्यस्ता सामान किन्ने क्रममा ध्यान नदिँदा संवेदनशील डेटा चोरी हुने जोखिम रहन्छ ।
यही सन्देश दिन काठमाडौँको इस्टलिङ्टन कलेजका विद्यार्थीहरूले ‘ह्याक मी’ नामक प्रोजेक्ट प्रस्तुत गरेका छन् । उक्त प्रोजेक्टमा बाहिरबाट हेर्दा सामान्य देखिने किबोर्ड प्रस्तुत गरिएको छ । तर, सामान्य देखिने किबोर्डमार्फत कसरी व्यक्तिको ल्यापटपमा रहेका संवेदनशील डेटा चोरी हुन सक्छन् भन्ने प्रत्यक्ष उदाहरण उक्त प्रोजेक्टमार्फत प्रस्तुत गरिएको थियो ।
कलेजले सञ्चालन गरेको ‘फ्युचरमा २०२५’ मार्फत साइबर सुरक्षाको महत्त्व र यसका जोखिमबारे चेतना फैलाउन उक्त किबोर्ड बनाइएको प्रोजेक्ट लिड पवन रेग्मीले बताए ।
‘ह्याक मी’ नाम दिइएको यो प्रोजेक्ट पवन र अपिल घिमिरेले तयार पारेका हुन् । जहाँ तार जोड्ने, चिप राख्ने जस्ता हार्डवेयरको काम अपिलले सम्हालेका थिए । पवनले प्रोग्रामिङ गरेका थिए ।
अपिल र पवन आईएनजी स्किल एकेडेमी अन्तर्गत स्किल म्युजियम एन्ड रिसर्च सेन्टरमा सँगै काम छन् । उक्त किबोर्ड ‘रास्पबेरी पाई पिको’ नामक चिपमा प्रोग्रामिङ गरेर बनाइएको हो । पवनले भने, “प्रोग्रामिङमा राम्रो ज्ञान भएका मानिसलाई यस्तो किबोर्ड, माउस बनाउन धेरै गाह्रो छैन । ”
उनले आफ्नो प्रोजेक्टबारे थप जानकारी दिँदै भने, “हामीले बनाएको किबोर्ड देख्दा सबैले चलाउन मिल्ने किसिमको सामान्य नै छ । तर यसलाई ल्यापटपमा जडान गरेको ३० सेकेन्डमा प्रयोगकर्ताको ल्यापटपमा भएको सबै डेटा तान्दिन्छ ।”
किबोर्डबाट सबै डेटा चोरी भइसक्दा पनि प्रयोगकर्ताले थाहा पाउन सक्दैनन् । उनले भने, “कुनै लिङ्क पठाएर मात्र ह्याकिङ हुन्छ भन्ने हाम्रो मान्यता छ । तर भौतिक डिभाइसबाट पनि ह्याक हुन्छ भनेर देखाउन चाहेका हौँ ।”
उक्त किबोर्डले ल्यापटपका पुराना गतिविधि, लगइन, साइनअप, पासवर्ड लगायतका विवरण लिन सक्ने क्षमता राख्छ । ल्यापटप फर्म्याट वा रिसेट गर्दा पनि किबोर्डमार्फत डेटा रिकभर गर्न सकिने उनले जानकारी दिए ।
प्रयोगकर्ताले किबोर्डमा टाइप गरेका कुरा र सर्च गरिने कुरा ट्र्याक गर्न सक्छन् । पुराना डेटा रिकभरीमा ९९% एक्युरेसी हुनसक्ने र केही डेटा हराउन सक्ने उनले जानकारी दिए ।
आफ्नो प्रोजेक्टले ह्याकिङलाई प्रोत्साहन गर्न नभई आमनागरिकलाई साइबर सुरक्षाका जोखिमबारे सचेत गराउने उद्देश्य राखेको पवन बताउँछन् । सुरक्षाभन्दा पनि सस्तो सामान किन्न चासो देखाउँदा साइबर जोखिम बढिरहेको उनको बुझाइ छ ।
“बजारमा पाइने सबै सामान सुरक्षित हुँदैनन्,” उनले भने, “कहिलेकाहीँ ल्यापटप बनाउन दिँदा भोलिपल्ट आउनु भन्छन् । तर आफ्नो सामान जुन पायो त्यही ठाउँमा छाड्दा साइबर सुरक्षा जोखिम बढाइरहेका हुन्छौँ ।”
सस्तोमा पायो भनेर जता पायो त्यतै पाएका सामान र भेट्टाएका पेनड्राइभ प्रयोग बन्द गर्न उनी सल्लाह दिन्छन् । टिकटक वा अन्य सामाजिक सञ्जालमा ‘सेल’ भनेर राखिएको भिडिओको भरमा सामान खरिद गर्नु पनि जोखिमपूर्ण काम रहेको उनी बताउँछन् ।
पछिल्लो अध्यावधिक: साउन २४, २०८२ १३:३५
