काठमाडौँ । जङ्गली हात्तीसँग सेल्फी खिच्न खोज्दा आक्रमणमा परेपछि एक पर्यटक गम्भीर घाइते भएका छन् । आइतबार भारतको कर्नाटकको बन्दिपुर टाइगर रिजर्भमा पर्यटक जङ्गली हात्तीको आक्रमणमा परेका हुन् ।
भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार ती पर्यटक सेल्फी वा भिडिओ खिच्नका लागि गाडीबाट ओर्लिएका थिए । “घटना भएको समयमा हात्ती एक व्यस्त राजमार्गमा हिँडिरहेको थियो । पर्यटक सम्भवत: सेल्फी वा भिडिओ खिच्न हात्तीको नजिक पुगेका थिए । त्यसले हात्तीलाई उत्तेजित बनायो र हात्ती पर्यटकलाई लखेट्दै दौडिन थाल्यो । उनी भागे, तर बीचमै लडे । हात्ती झन्डै उनको नजिकै पुगेर कुल्चिनै लाग्दा अन्ततः अन्यत्र ध्यान गएपछि उनी जोगिए,” समाचारमा भनिएको छ ।
इन्डिया टुडेका अनुसार घाइते पर्यटकलाई अन्य व्यक्तिले तुरुन्तै अस्पताल पुर्याएका थिए । भाइरल भइरहेको एउटा भिडिओमा टाढाको एङ्गलबाट हात्तीले लखेटी रहेको देखिन्छ । अर्को भिडिओमा भने गाडी भित्रबाट खिचिएको नजिकको भिडिओ देखिन्छ । उक्त पोस्ट शेयर गर्ने एक्स अकाउन्टले लेखेको छ, “सेल्फीका लागि जीवन नै जोखिममा पार्नु मुर्खता हो ।”
Risking your life for just selfies is foolishness.
— Team Jhaat Official👊 (@TeamJhaant__) August 11, 2025
A Kerala tourist miraculously survived after a elephant attacked him in Bandipura Tiger Reserve. pic.twitter.com/6jGY78btn6
नेपालमा पनि हालै एक वृद्धले नजिकबाट हात्तीको भिडिओ खिचिरहेको भिडिओ भाइरल भएको थियो । यद्यपि धेरै नजिक आइसकेको जङ्गली हात्ती भने घरतिर नआई अर्को बाटो लागेको थियो ।
विगत २५ वर्षदेखि हात्तीको अध्ययन र वन्यजन्तु फोटोग्राफीमा सक्रिय विज्ञ शंकर लुइटेलले यसको मनोवैज्ञानिक र व्यावहारिक पक्षबारे प्रस्ट पारेका छन् । उनका अनुसार हात्तीको आक्रामक व्यवहार मानिसको गतिविधिबाट उत्पन्न डरको उपज हो ।
हात्ती स्वभावैले आक्रामक नभई सामाजिक र शान्त प्राणी भएको लुइटेल बताउँछन् । तर, जब मानिस उसको व्यक्तिगत क्षेत्रमा प्रवेश गर्छ र अप्राकृतिक गतिविधि गर्छ तब हात्तीले असुरक्षित महसुस गर्छ ।
“हात्ती हामी मान्छेजस्तै सामाजिक प्राणी हो,” लुइँटेल भन्छन्, “जब मान्छे उसको बाटोमा आएर विभिन्न गतिविधि गर्छन् त्यसले उसलाई असर गर्छ र ऊ डराउँछ । डराएपछि नै उसले आक्रमण गर्ने हो । नजिकबाट फोटो वा भिडिओ खिच्न खोज्दा उसलाई डर महसुर हुन्छ र ऊ आक्रामक हुन्छ ।”
सामाजिक सञ्जालमा लाइक र कमेन्टका लागि वन्यजन्तुको नजिक गएर फोटो खिच्ने प्रवृत्तिले द्वन्द्व बढाएको विज्ञको भनाइ छ । लुइटेल पनि यसलाई ठूलो जोखिम मान्छन् ।
उनी भन्छन्, “अहिलेसम्म नजिक गएर फोटो खिच्दै गर्दा मान्छेलाई चोटपटक नै लागिहालेको घटना त नेपालमा त्यति देखिएको छैन तर खेदाएका घटना छन् । यद्यपि यस्तो घटना घट्ने सम्भावना धेरै छ र यो जोखिम सधैँ रहन्छ ।”
सबै हात्ती उत्तिकै जोखिमपूर्ण हुँदैनन् । लुइँटेलका अनुसार झुण्डमा भन्दा एक्लै हिँडिरहेको भाले हात्ती (मत्ता हात्ती) बढी आक्रामक र खतरनाक हुन्छ ।
“सबैभन्दा बढी जोखिम एक्लै हिँड्ने भाले हात्तीबाट हुन्छ,” उनी थप्छन्, “तिनीहरू झुण्डबाट छुटेर उन्मादमा हिँडेका हुन्छन् । दिउँसोको समयमा मानिससँग मुठभेड हुँदा दुर्घटनाको सम्भावना बढी हुन्छ । ठूलो झुण्डबाट हुने आक्रमण तुलनात्मक रूपमा कम हुन्छ ।” फोटो वा भिडिओ खिच्न परे आफूलाई सुरक्षित राखी दूरी कायम गरेर खिच्न उनको सुझाव छ ।
पछिल्लो अध्यावधिक: साउन २७, २०८२ १५:१०
