काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजीनेटले आफ्ना इन्टरनेट प्याकेजमा पछिल्लो पुस्ताको वायरलेस प्रविधि ‘वाई-फाई ६’ उपलब्ध गराएको छ । विशेषगरी काठमाडौँ उपत्यका बाहिरका ग्राहकहरूलाई लक्षित गरी कम्पनीले यो सेवा विस्तार गरेको हो ।
ग्राहकले अब १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस लगायतका प्याकेजहरूमा वाई-फाई ६ को अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार हाल प्रचलनमा रहेको वाई-फाई ५ को तुलनामा वाई-फाई ६ ले प्रयोगकर्तालाई तीव्र गति, बढेको क्षमता, लो लेटेन्सी (इन्टरनेटमा हुने ढिलाइ) र उच्च सुरक्षा जस्ता फाइदाहरू प्रदान गर्दछ । घर वा कार्यालयमा एकै पटक धेरै उपकरणहरूमा इन्टरनेट चलाउँदा पनि सबैमा सहज र स्थिर गतिको अनुभव गर्न सकिने कम्पनीको भनाइ छ ।
साथै अनलाइन गेमिङ, भिडिओ कन्फरेन्सिङ र लाइभ स्ट्रिमिङ जस्ता कार्यहरू पहिलेभन्दा उत्कृष्ट हुने बताइएको छ । “२.४ गिगाहर्ज र ५ गिगाहर्ज दुवै फ्रिक्वेन्सी ब्यान्डमा काम गर्ने भएकाले यसले फराकिलो कभरेज क्षेत्र प्रदान गर्नुका साथै स्मार्टफोन र ट्याब्लेट जस्ता उपकरणहरूको ब्याट्रीको आयु बढाउन समेत मद्दत गर्दछ,” कम्पनीले भनेको छ ।
कम्पनीले वाई-फाई ६ को पूर्ण क्षमताको अनुभव लिनका लागि प्रयोगकर्ताले सोही प्रविधि सपोर्ट गर्ने डिभाइस प्रयोग गर्नुपर्ने स्पष्ट पारेको छ । चाडपर्व नजिकिँदै गर्दा धेरै प्रयोगकर्ताले एकैपटक इन्टरनेट चलाउने भीडभाडको समयमा पनि यो प्रविधिले राम्रो प्रदर्शन गर्ने कम्पनीको विश्वास छ ।
पछिल्लो अध्यावधिक: साउन २७, २०८२ १७:४०
