काठमाडौँ । होन्डाले आफ्नो नयाँ पूर्ण-विद्युतीय मोटरसाइकल आगामी २ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । अघिल्लो वर्ष ईआईसीएमएमा प्रदर्शन गरिएको ईभी फन कन्सेप्टसँग मिल्दोजुल्दो यो मोटरसाइकलको टिजर युट्युबमा राखेको छ ।
टिजरमा ढाकिएको यो मोटरसाइकल अझै विकास चरणमा रहेको सङ्केत गरेको छ । टिजरमा मोटरसाइकलको समग्र डिजाइन देखाइएको छ । जसको अगाडिको भाग ईभी फन कन्सेप्टसँग मिल्दोजुल्दो छ । जसको हेडलाइटमा एलईडी स्ट्रिप, बार-एन्ड मिरर्स, सिंगल-साइडेड स्विङआर्म र टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल देखिन्छ ।
दुवै छेउमा डिस्क ब्रेक छ । यी सबै विवरणहरूले यो मोटरसाइकल होन्डा ईभी फन कन्सेप्टमा आधारित रहेको पुष्टि गर्दछ । होन्डा ईभी फन कन्सेप्ट एउटा पूर्ण-विद्युतीय स्ट्रिट नेकेड मोटरसाइकल हो । यो स्टेबल ब्याट्री भएको होन्डाको पहिलो मोटरसाइकल पनि हो । होन्डाका अनुसार यो मोटरसाइकलले ५०० सीसीको मोटरसाइकल जत्तिकै वा सोभन्दा बढी पर्फर्मेन्स प्रदान गर्ने लक्ष्य राखेको छ ।
होन्डाले यो कन्सेप्टलाई कम्पनीको स्टेबल ब्याट्री जडान भएको पहिलो इलेक्ट्रिक स्पोर्ट्स मोडेल भनेको छ र यसलाई यसै वर्षदेखि व्यावसायिक रूपमा बजारमा ल्याउने बताएको छ । ब्याट्रीको विशिष्टता बारे विस्तृत जानकारी अझै उपलब्ध छैन ।
तर यसले १०० किलोमिटर वा सोभन्दा बढीको क्रुजिङ रेन्ज प्रदान गर्नेछ, जुन सहर भित्रको प्रयोगका लागि पर्याप्त हुनेछ । होन्डाले यो विद्युतीय मोटरसाइकल नेपालमा कहिले सार्वजनिक गर्ने भन्ने बारेमा भने कुनै जानकारी दिएको छैन ।
पछिल्लो अध्यावधिक: साउन २७, २०८२ १९:२२
