एक समय इन्टरनेटमा दबदबा राख्ने यी ६ वेबसाइट, जो अहिले अर्काइभमा मात्र भेटिन्छन्
साउन २७, २०८२ २१:२३
काठमाडौँ । इन्टरनेट सधैँ परिवर्तन भइरहने एक गतिशील स्थान हो, जहाँ वेबसाइटहरू उदाउँछन्, दबदबा राख्छन् र बिस्तारै लोप हुन्छन् । जो मानिसहरू डिजिटल युगमा हुर्किएका छन्, उनीहरूका लागि यी साइटहरू केवल वेब एड्रेस मात्र थिएनन्, बरु उनीहरूको डिजिटल जीवनको एक हिस्सा बनिसकेका थिए । आज त्यस्ता धेरै साइटहरू सम्झनामा मात्र छन् । जसलाई वेब्याक मसिन जस्ता डिजिटल अर्काइभहरूमा सीमित छन् ।
केही वेबसाइटहरू पूर्ण रूपमा बन्द भइसकेका छन् र तिनीहरूका डोमेन अहिले नेमचिप जस्ता रजिस्ट्रारहरूमा खरिदका लागि उपलब्ध छन् । अन्य डोमेनहरू भने पूर्ण रूपमा फरक वेबसाइटहरूमा वा सामान्य ल्यान्डिङ पेजहरूमा रिडिरेक्ट हुन्छन् । आज यहाँ प्रारम्भिक इन्टरनेट युगका केही प्रतिष्ठित वेबसाइटहरूको बारेमा चर्चा गर्दैछौँ ।
१. अल्टाभिस्टा (१९९५–२०१३)
गुगलको वर्चश्व स्थापित हुनु अघि अल्टाभिस्टा थियो । जुन सन् १९९५ मा डिजिटल इक्विपमेन्ट कर्पोरेसनका पल फ्लहर्टीले सुरु गरेका थिए । यो पहिलो सर्च इन्जिनमध्ये एक थियो । यसले इन्टरनेटलाई सर्च गर्न योग्य महसुस गराएको थियो । सन् ९० को दशकको उत्तरार्धमा यो विश्वकै सबैभन्दा धेरै भिजिट गरिने मध्ये ११ औँ ठुलो साइट थियो । तर, गुगलको सफा इन्टरफेस र उत्कृष्ट एल्गोरिदमले यसलाई पछाडि पार्यो । याहुले यसलाई सन् २००३ मा अधिग्रहण गर्यो र सन् २०१३ मा यसलाई बन्द गरी याहु सर्चमा रिडिरेक्ट हुने बनाइयो ।
२. जियोसिटिज (१९९४–२००९)
अल्टाभिस्टाले वेब सर्चमा मद्दत गरेजस्तै जियोसिटिजले प्रयोगकर्ताहरूलाई आफ्नै सानो वेब स्पेस बनाउने सुविधा दिन्थ्यो । सन् १९९४ मा बेभर्ली हिल्स इन्टरनेटको रूपमा सुरु भएको यो साइट एक वर्ष पछि जियोसिटिजको रूपमा रि: ब्रान्डिङ गरियो र साधारण मानिसहरूले निःशुल्क वेबसाइटहरू बनाउन सक्ने स्थान बन्यो । सन् १९९९ सम्ममा यो विश्वको तेस्रो सबैभन्दा धेरै भिजिट गरिने साइट बन्यो । पछि याहुले यसलाई अधिग्रहण गर्यो । तर, सन् २००९ मा याहुले यसलाई बन्द गरिदियो, जसले गर्दा ३ करोड ८० लाख भन्दा बढी व्यक्तिगत पेजहरू रातारात गायब भए ।
३. स्टम्बलअपन (२००१–२०१८)
जियोसिटिज साइटहरू निर्माण गर्नका लागि थियो भने स्टम्बलअपन पहिले नै बनेका साइटहरू पत्ता लगाउनका लागि थियो । नोभेम्बर २००१ मा ग्यारेट क्याम्प (जसले पछि उबरको स्थापना गरे) को टोलीले सुरु गरेको यो प्लेटफर्म इन्टरनेटको लागि भाग्यको पाङ्ग्रा घुमाएजस्तै थियो । प्रयोगकर्ताहरू एउटा बटन क्लिक गरेर आफ्नो रुचि अनुसारको कुनै पनि अनियमित साइटमा पुग्न सक्थे । तर, सन् २०१८ सम्ममा सामाजिक सञ्जालको आगमनले यसको आकर्षण फिका भयो र यो बन्द हुन पुग्यो । जसको स्थान मिक्सले लियो ।
४. याहु! आन्सर्स (२००५–२०२१)
सन् २००० को दशकमा याहु! आन्सर्स जिज्ञासाका लागि प्रमुख स्थान बन्यो । सन् २००५ मा सुरु भएको यो प्लेटफर्मले इन्टरनेटलाई ठुलो क्यू एन्ड ए सामुदायिक फोरममा परिणत गर्यो । जहाँ प्रयोगकर्ताले जे पनि सोध्न सक्थे र संसारभरका मानिसहरूबाट प्रतिक्रिया पाउन सकिन्थ्यो ।
तर, रेडिट, कोरा र सामाजिक सञ्जालको उदयले गर्दा याहु! आन्सर्सले आफूलाई सान्दर्भिक राख्न सङ्घर्ष गर्नुपर्यो । १५ वर्षको प्रयासपछि याहुले सन् २०२१ मा यसलाई बन्द गर्यो र साइटलाई याहु सर्चमा रिडिरेक्ट गर्यो ।
५. मेगाअपलोड (२००५–२०१२)
याहु! आन्सर्स प्रश्न सोध्ने र जवाफ पाउने बारेमा थियो भने मेगाअपलोड फाइलहरू शेयर गर्ने र प्राप्त गर्ने माध्यम थियो । सन् २००५ मा किम डटकमले स्थापना गरेको यो हङकङमा आधारित सेवा फाइल होस्टिङको एक ठुलो कम्पनी बन्यो । एक समय यसका १८ करोड भन्दा बढी प्रयोगकर्ताहरू थिए र यो विश्वको १३ औँ सबैभन्दा धेरै भिजिट गरिने साइट थियो । तर, यसको लोकप्रियताले प्रतिलिपि अधिकार उल्लङ्घनका कारण कानुनी समस्याहरू निम्त्यायो । सन् २०१२ मा एफबीआईले यसका डोमेनहरू कब्जामा लियो, लगानीकर्ताहरू पक्राउ परे र सम्पूर्ण सेवा बन्द भयो ।
६. चाचा (२००६–२०१६)
सर्च इन्जिनहरू बढी स्वचालित बन्दै जाँदा चाचाले उत्तर खोज्नमा मानवीय स्पर्श फिर्ता ल्याउने प्रयास गर्यो । सन् २००६ मा स्कट ए जेम्स र ब्राड बोस्टिकले सुरु गरेको यो प्लेटफर्मले प्रयोगकर्ताहरूलाई लाइभ गाइडहरूसँग जोड्थ्यो । जसले प्रश्नहरूलाई वास्तविक समयमा परिष्कृत गरी जवाफ दिन्थे । सन् २००८ मा यो मोबाइलमा पनि उपलब्ध भयो । जसले मानिसहरूलाई प्रश्नहरू टेक्स्ट गर्न र क्युरेट गरिएका प्रतिक्रियाहरू निःशुल्क प्राप्त गर्ने सुविधा दिन्थ्यो । जुन त्यसबेला एक गज्जबको आविष्कार थियो । तर, मानिसले एल्गोरिदमलाई पछाडि पार्न सकेनन् । सन् २०१२ सम्ममा यसको यूके सञ्चालनहरू बन्द भयो र सन् २०१६ सम्ममा घट्दो आम्दानीका कारण कम्पनी पूर्ण रूपमा बन्द भयो ।
यी साइटहरूलाई फर्केर हेर्दा नोस्टाल्जिक महसुस हुनु स्वाभाविक हो । तिनीहरू केवल टुल मात्र थिएनन्, बरु कतिपयका लागि डिजिटल जीवनको अङ्ग बनिसकेका थिए । जियोसिटिजमा घर बनाउने होस्, स्टम्बलअपनमा रमाइला कुराहरू पत्ता लगाउने होस् वा याहु! आन्सर्समा अनौठा प्रश्नहरू सोध्ने होस् । यी साइटहरूले इन्टरनेटको खोजी र अनुभव गर्ने तरिकालाई आकार दिए ।
वेब अर्काइभले गर्दा अझै पनि यी प्लेटफर्मका डिजिटल अवशेषहरू हेर्न सकिन्छ । आज हामीले प्रयोग गर्ने एप र साइटहरू पनि भोलिको दिनमा केवल सम्झना मात्र बन्ने पो हुन् कि ?
-हाउ-टु-गिक
पछिल्लो अध्यावधिक: साउन २७, २०८२ २१:२३
