close

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल 'संग्रहालय' विमोचन

टेकपाना टेकपाना

साउन २८, २०८२ १७:४०

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल 'संग्रहालय' विमोचन

काठमाडौँ । एनसेल फाउन्डेसन, अन्तर्राष्ट्रिय संग्रहालय परिषद् (आइकम) नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन गरिएको छ । संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय अभ्यास र नेपाली संग्रहालयको इतिहासका विभिन्न पक्ष समेटिएको उक्त जर्नलको हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमोचन गरे ।

नारायणहिटी दरबार संग्रहालयमा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री पाण्डेले नेपालका संग्रहालयका विभिन्न आयामलाई समेटेर जर्नल प्रकाशन हुनुलाई उत्कृष्ट प्रयासको संज्ञा दिए । उनले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिताको प्रशंसा गर्दै एनसेल फाउन्डेसनको सहयोग महत्त्वपूर्ण रहेको बताए । मन्त्री पाण्डेले संग्रहालयहरूको दर्ता, मापदण्ड तथा व्यवस्थापनका सम्बन्धमा सरकारले नीतिगत तहमा काम गरिरहेको जानकारी पनि दिए ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्काले संस्कृति र सम्पदाको प्रवर्द्धन गर्न आइकम नेपालसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, “कला र संस्कृति हाम्रा पहिचान हुन्, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । नेपाली कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन एनसेल फाउन्डेसनको प्राथमिकतामा छ ।”

कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि याको दु तोइले सांस्कृतिक प्रवर्द्धन र शिक्षाका लागि नेपालका संग्रहालयले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै तिनको थप विकास गर्नुपर्नेमा जोड दिए ।

उक्त जर्नल एनसेल फाउन्डेसनको सहयोगमा आइकम नेपालले सञ्चालन गरेको एकवर्षे परियोजना ‘संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन’ अन्तर्गत प्रकाशन गरिएको हो । यस परियोजनाअन्तर्गत संग्रहालयको महत्त्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने र संग्रहालयसम्बन्धी स्रोत सामग्री निर्माण गर्ने जस्ता क्रियाकलापहरू कार्यान्वयन गरिएको थियो ।

आइकम नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले परियोजनामार्फत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक सयभन्दा बढी संग्रहालयकर्मीलाई संग्रहालयको आधारभूत मान्यता र अभ्याससम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिए । तालिमले तीनै तहका सरकार तथा समुदाय र निजी संग्रहालयलाई जोडेर संग्रहालयका आधारभूत विषयमा छलफल गर्न सहयोग पुर्‍याएको थियो ।

परियोजनाअन्तर्गत नेपालमा पहिलो संग्रहालय स्थापना भएदेखि हालसम्मको इतिहास समेटेर एउटा श्रव्य–दृश्य वृत्तचित्र पनि निर्माण गरिएको छ । यो सम्पूर्ण परियोजना नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्थानीय र प्रदेश सरकारहरूसँगको सहकार्यमा कार्यान्वयन गरिएको हो । सरकार, निजी क्षेत्र र स्थानीय समुदायबिचको यस्तो सहकार्यले नेपालमा संग्रहालय र सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको सरोकारवालाहरूले बताएका छन् ।

 

पछिल्लो अध्यावधिक: साउन २८, २०८२ १७:४१