सामाजिक सञ्जालमा व्यापक विरोधपछि सच्याइयो ‘यसपालि त मनै फाट्यो...’ गीतका रचनाकारको नाम
साउन २८, २०८२ १७:५४
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा रहेको ‘यसपालि त मनै फाट्यो...’ गीतको रचनाकारको नाममा भएको त्रुटि सच्याएको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रले उक्त गीतको रचनाकार अम्बर गुरुङ नभई राजेन्द्र थापा भएको जनाएको हो ।
साथै, सच्याइएअनुसारकै विवरणका आधारमा शिक्षण-सिकाइ क्रियाकलाप गर्न/गराउनसमेत केन्द्रले सम्पूर्ण शिक्षण संस्थाहरूलाई अनुरोध गरेको छ ।
कक्षा ९ को अनिवार्य नेपाली विषयअन्तर्गत पाठ ५ को पृष्ठ ५४ मा रहेको ‘बोध र अभिव्यक्ति’ खण्डको अभ्यास १३ मा उक्त गीतको रचनाकार अम्बर गुरुङ भनेर उल्लेख थियो ।
वि.सं. २०७९ मा तयार भई कार्यान्वयनमा आएको यस पाठ्यपुस्तकमा सोही गलत विवरणका आधारमा अध्यापन हुँदै आएको थियो । पछिल्लो समय यस विषयलाई लिएर सामाजिक सञ्जालमा कलाकर्मीहरूले निरन्तर विरोध जनाउँदै आएका थिए ।
यो विवाद साउन २२ गते (अगस्ट ७) पोखरास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले सामाजिक सञ्जालमा उक्त त्रुटिबारे पोस्ट गरेपछि सुरु भएको थियो । सोही पोस्टलाई गीतका वास्तविक रचनाकार राजेन्द्र थापाले शेयर गर्दै असन्तुष्टि जनाएपछि अन्य गायक, सङ्गीतकार तथा कलाकर्मीहरूले पनि पाठ्यपुस्तकमा भएको गल्तीप्रति सामाजिक सञ्जालमा व्यापक विरोध जनाउन थालेका थिए ।
सामाजिक सञ्जाल तथा अन्य स्रोतहरूबाट आएको प्रतिक्रियाका आधारमा उक्त गीतको वास्तविक रचनाकारबारे आधिकारिकता पुष्टि गरिएको पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी पुरुषोत्तम घिमिरेले जानकारी दिए । उनका अनुसार केन्द्रले गत सोमबार (२६ साउन) सार्वजनिक सेवा प्रसारण (रेडियो नेपाल) सँग यसबारे आधिकारिक जानकारी माग गरेको थियो ।
रेडियो नेपालले मंगलबार जवाफ पठाउँदै उक्त गीत रेडियो नेपालमै रेकर्ड भएको र त्यसका रचनाकार राजेन्द्र थापा, सङ्गीतकार अम्बर गुरुङ र गायिका अरुणा लामा रहेको पुष्टि गरेको थियो । घिमिरेले केन्द्रको वेबसाइटमा राखिएको सूचनालाई नै आधिकारिक मानेर सोहीअनुसार अध्ययन/अध्यापन गर्न/गराउन शिक्षक तथा विद्यार्थीहरूलाई अनुरोध गरे ।
केन्द्रले हरेक वर्ष प्राप्त प्रतिक्रियाका आधारमा पाठ्यपुस्तकमा रहेका तथ्याङ्क, व्याकरण र अन्य त्रुटिहरूलाई नियमित रूपमा परिमार्जन गर्दै आएको पनि उनले बताए ।
पछिल्लो अध्यावधिक: साउन २८, २०८२ १७:५४
