close

एलन मस्कको एक्सएआईका सह-संस्थापकले कम्पनी छाडे, अब आफ्नै भेन्चर क्यापिटल खोल्ने

टेकपाना टेकपाना

साउन २९, २०८२ ९:७

एलन मस्कको एक्सएआईका सह-संस्थापकले कम्पनी छाडे, अब आफ्नै भेन्चर क्यापिटल खोल्ने

काठमाडौँ । एलन मस्कको एआई स्टार्टअप एक्सएआईका सह-संस्थापक इगोर बाबुस्किन कम्पनीबाट बाहिरिएका छन् । सामाजिक सञ्जाल एक्समा बुधबार एक पोस्ट गर्दै उनले यो घोषणा गरेका हुन् । बाबुस्किनले एक्सएआईमा इन्जिनियरिङ टोलीको नेतृत्व गरेका थिए । उनले केही वर्षमै कम्पनीलाई सिलिकन भ्यालीको प्रमुख एआई मोडेल डेभलपरमध्ये एक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको टेकक्रन्चले लेखेको छ ।

बाबुस्किनले आफ्नो पोस्टमा लेखेका छन्, “आज एक्सएआईमा मेरो अन्तिम दिन थियो, जुन कम्पनी मैले एलन मस्कसँग मिलेर २०२३ मा सुरु गरेको थिएँ ।”

उनले एलन मस्कलाई पहिलो पटक भेट्दा एआई र भविष्यको सम्भावनाबारे घण्टौँ कुरा गरेको सम्झँदै भनेका छन्, “हामी दुवैले फरक उद्देश्य भएको नयाँ एआई कम्पनीको आवश्यकता महसुस गरेका थियौँ ।”

बाबुस्किनले एक्सएआई छाडेर आफ्नै भेन्चर क्यापिटल फर्म ‘बाबुस्किन भेन्चर्स’ (Babuschkin Ventures) सुरु गर्न लागेको बताएका छन् । उनको यो नयाँ फर्मले एआई सुरक्षा अनुसन्धान र ‘मानवतालाई अगाडि बढाउने र ब्रह्माण्डका रहस्यहरू खोल्ने’ स्टार्टअपहरूलाई सहयोग गर्नेछ । 

फ्युचर अफ लाइफ इन्स्टिच्युटका संस्थापक म्याक्स टेगमार्कसँगको डिनरपछि आफूलाई यो फर्म सुरु गर्ने प्रेरणा मिलेको बाबुस्किनले बताएका छन् । त्यस डिनरमा उनीहरूले भविष्यका पुस्ताको प्रगतिका लागि एआई प्रणालीहरू कसरी सुरक्षित रूपमा निर्माण गर्न सकिन्छ भन्नेबारे छलफल गरेका थिए । 

बाबुस्किनको बहिर्गमन एक्सएआईका लागि केही महिनायताको उथलपुथलपूर्ण अवस्थापछि आएको हो । विवादित प्रश्नहरूको जवाफ दिने क्रममा ग्रोकले मस्कका व्यक्तिगत विचारहरूलाई उद्धृत गरेको पाइएको थियो । त्यस्तै यहूदी विरोधी टिप्पणीहरू गरेको र आफैंलाई ‘मेकाहिटलर’ (Mechahitler) भनेर सम्बोधन गरेको थियो । हालै, एक्सएआईले ग्रोकमा एउटा नयाँ सुविधा सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई टेलर स्विफ्टजस्ता सेलिब्रेटीहरूको नग्नता झल्काउने भिडिओहरू बनाउन अनुमति दिएको थियो ।

यी विवादहरूले कहिलेकाहीँ एक्सएआईका मोडेलहरूको प्राविधिक क्षमतालाई छायामा पारेको छ । 

एक्सएआईको सह-संस्थापना गर्नुअघि बाबुस्किन गुगल डिपमाइन्डको अनुसन्धान टोलीका सदस्य थिए । त्यहाँ रहँदा उनको टिमले सन् २०१९ मा अल्फास्टार (AlphaStar) नामक एक एआई प्रणालीको विकास गरेको थियो । च्याटजीपीटी सार्वजनिक हुनुभन्दा अघिका वर्षहरूमा बाबुस्किनले ओपनएआईमा पनि एक अनुसन्धानकर्ताको रूपमा काम गरेका थिए ।

बाबुस्किनले एक्सएआईमा बिताएको समयलाई सन्तुष्टिका साथ सम्झँदै भनेका छन् “आफ्नो बच्चालाई कलेज पठाएपछि गाडी चलाएर टाढा जाँदै गरेको गर्विलो अभिभावकजस्तै महसुस भएको छ ।”

पछिल्लो अध्यावधिक: साउन २९, २०८२ ९:७