close

म पनि च्याटजीपीटी चलाउँछु, तर एआईले मानव मस्तिष्कलाई जित्न सक्दैन: प्रधानमन्त्री

टेकपाना टेकपाना

साउन ३०, २०८२ १३:४२

म पनि च्याटजीपीटी चलाउँछु, तर एआईले मानव मस्तिष्कलाई जित्न सक्दैन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सूचना र जानकारीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र च्याटजीपीटी जस्ता नयाँ प्रविधिको भरपुर उपयोग गर्ने गरेको बताएका छन् । आईसीटी फाउन्डेसन नेपालले शुक्रबार आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ मा बोल्दै उनले प्रविधिको विकासलाई सबैले आत्मसाथ गर्नुपर्ने बताए ।

“सूचना प्राप्त गर्न र अन्य धेरै कुराहरूका लागि मैले पनि एआईको मद्दत लिन्छु । च्याटजीपीटीलाई सोध्यो भने उसले तुरुन्तै जानकारी दिन्छ,” उनले सुनाए । आफू प्रविधि क्षेत्रको व्यक्ति नभए पनि देशलाई अगाडि बढाउन ‘लेटेस्ट टेक्नोलोजी’लाई कसरी प्रयोग र विकास गर्ने भन्नेमा सधैँ चासो राख्ने गरेको उनले बताए ।

पछिल्लो समय एआईले मानव रोजगारी खोस्ने हो कि भन्ने डर बढिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले यसबाट डराउनु नपर्ने बताए । “मानव मस्तिष्कभन्दा श्रेष्ठ कुरो सृष्टिले अहिलेसम्म उत्पादन नै गर्न सकेको छैन । त्यसकारण मानव मस्तिष्कलाई कुनै पनि कुराले च्यालेन्ज गर्न सक्दैन,” उनले भने । प्रविधिको सही सदुपयोग विकासका लागि गर्नुपर्ने, तर दुरुपयोग भएमा हानिकारक हुनेतर्फ पनि उनले सचेत गराए ।

आफ्नो कार्यकालमा प्रविधि क्षेत्रमा गरेका कामहरूको स्मरण गर्दै उनले भविष्यको मार्गचित्र पनि प्रस्तुत गरे । “मैले डिजिटल नेपालको कुरा गर्दा वा अप्टिकल फाइबर बिछ्याउने शिलान्यास गर्दा मानिसहरूले ‘हावा गफ’ भनेर उडाए । तर आज हामी फोरजी लगभग सम्पन्न गरेर फाइभजीमा कसरी जाने भनेर काम गर्दैछौँ,” उनले भने ।

सरकारले हालै एआई सम्बन्धी नीति ल्याइसकेको जानकारी दिँदै उनले अब नेपाल प्रविधि लिने मात्र होइन, दिने पनि बन्नुपर्नेमा जोड दिए । दुर्गम ठाउँका विद्यार्थीहरूलाई अनलाइन कक्षामार्फत पढाएर एसईईमा उत्तीर्ण प्रतिशत बढाएको र उनीहरू उत्कृष्ट कलेजमा पढ्न सफल भएको उदाहरण दिँदै उनले प्रविधिको सकारात्मक प्रभाव देखिन थालेको बताए ।

कार्यक्रममा उनले नेपालमा सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जाल वा डिजिटल प्लेटफर्मले नेपालको कानुन मान्नुपर्नेमा कडा अडान प्रस्तुत गरे । उनले भने, “नेपालमा जे कुरा चल्छ, त्यो नेपालको कानुन अन्तर्गत हुनुपर्दछ । यहाँ आम्दानी गर्नेले यहीँ कर तिर्नुपर्छ । नेपालमा अफिस खोलेको हुनुपर्छ र नेपाली जनता र कानुनप्रति उत्तरदायी हुनुपर्छ । योभन्दा बाहिर बसेर छुट कसैले पाउँदैन ।”

 

पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ १३:४२