close

भ्रष्टाचार नियन्त्रणका लागि आईटी प्रयोग गर्न चाहन्छु: प्रधानमन्त्री

टेकपाना टेकपाना

भदौ २, २०८२ १५:४३

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सूचना प्रविधिको भरपुर प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार एमाले निकट राष्ट्रिय युवा सङ्घले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ लाई डिजिटल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधि अब रहर नभई विकास र सुशासनका लागि अनिवार्य आवश्यकता बनिसकेको बताए ।

“हामी आईटीलाई सुशासनको सहयोगीको रूपमा समाजको सुप्रबन्धका लागि र विशेषगरी भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीको रूपमा प्रयोग गर्न चाहन्छौँ,” प्रधानमन्त्री ओलीले भने, “अब हामी आईटीबिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ ।”

सरकारले ‘डिजिटल नेपाल’ को नारालाई साकार पार्न ‘डिजिटल नेपाल फ्रेमवर्क’ को अवधारणा अघि बढाएको र हाल त्यसलाई परिष्कृत गर्दै दोस्रो चरणमा प्रवेश गरेको उनले जानकारी दिए ।

सूचना प्रविधिको सही प्रयोगले शिक्षा र स्वास्थ्य क्षेत्रमा सकारात्मक परिणाम देखिन थालेको उदाहरण दिँदै उनले युवाहरूको प्रयासमा सञ्चालित अनलाइन कक्षाका कारण एसईईको नतिजामा १४ प्रतिशतले वृद्धि भएको दाबी गरे । उनले भने, “सानो प्रयास र सानो खर्चबाट लाखौँ विद्यार्थीको नतिजामा सुधार आयो, यो प्रविधिको शक्ति हो ।”

यसैगरी अनलाइन स्वास्थ्य सेवामार्फत दुर्गम क्षेत्रका साना अस्पतालले पनि ठुला अस्पतालबाट विशेषज्ञ सेवा लिन सकेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले प्रविधिको दुरुपयोगबाट समाजमा फैलिनसक्ने गलत सूचना र विकृतिप्रति सचेत रहनुपर्नेमा पनि जोड दिए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न विकास र सुशासनमा तीव्रता दिनुपर्ने र त्यसका लागि आईटीको भूमिका महत्त्वपूर्ण हुने बताए ।

सम्मेलनमा उनले आईटी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले एआई नीति ल्याएको र आईटी उत्पादन निर्यात तथा विदेशमा कम्पनी खोल्न सहज हुने गरी कानुनी व्यवस्था मिलाएको पनि जानकारी दिए ।

यस कार्यक्रमलाई डिजिटल स्वरूपमा ल्याउन एपेक्स टेक्नोलोजीले भूमिका खेलेको थियो । कार्यक्रममा अधिकांश वक्ताले अनलाइनबाट प्रस्तुति दिएका थिए ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८२ १७:८