close

नाडा अटो शो उद्घाटन गर्दै ओलीले भने- नेपालमा लगानी र काम गर्न बाधा छैन

टेकपाना टेकपाना

भदौ ३, २०८२ १४:४३

नाडा अटो शो उद्घाटन गर्दै ओलीले भने- नेपालमा लगानी र काम गर्न बाधा छैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी र काम गर्न कुनै किसिमको बाधा नभएको बताएका छन् । मंगलबार भृकुटीमण्डपमा १७औँ संस्करणको नाडा अटो शोको उद्घाटन गर्दै उनले सरकारले लगानीमैत्री वातावरण बनाएको दाबी गरे ।

वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ-नयाँ विकास, आविष्कार र प्रगति भइरहेको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा ओलीले जोड दिए । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै किसिमको साथ दिने विश्वास दिलाए ।

“हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौँ,” प्रधानमन्त्री ओलीले भने, “लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही ‘असन्तुष्ट नै हुन्छु’ भनेर कसम खाएको छ भने त केही लाग्दैन ।”

उनले उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्दै गरेको, अन्तर्राष्ट्रिय विमानस्थल थपिएको र हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलाम खानीको उत्पादन र प्रयोगमा सरकारले काम गरिरहेको जानकारी दिए । प्रविधिको रूपान्तरण भइसकेको बताउँदै उनले यी सबैको ध्येय विकास र समृद्धि भएको र यसमा ढुक्क भएर अगाडि बढ्न व्यवसायीलाई आग्रह गरे ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शोमा विभिन्न कम्पनीका सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन् । यस वर्षको शोमा दीपलको उड्ने कार र अटोनोमस रोबोट मुख्य आकर्षणका रूपमा रहेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालमा उड्ने कारलाई अनुमति नभए पनि प्रदर्शनीमा देखाइएको फ्लाइङ कारलाई भविष्यको यातायात प्रणालीको संकेतका रूपमा व्याख्या गरे । नाडा अध्यक्ष करण चौधरीले नेपालमा पहिलोपटक फ्लाइङ कार प्रदर्शनीमा ल्याइएको जानकारी दिए । उनले विद्युतीय सवारीसाधनमा कर छुट दिइएपछि उपभोग बढेको र अन्तर्राष्ट्रिय मिडियाले समेत नेपाललाई प्राथमिकतामा राख्न थालेको बताए ।

६ दिनसम्म चल्ने प्रदर्शनीमा ७५ बढी एक्जिबिटर रहेको नाडाले जानकारी दिएको छ । नाडाका अनुसार प्रदर्शनी हेर्न विद्यार्थीहरूका लागि १५० रुपैयाँ र अन्यका लागि २०० रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ १५:५१